देशको उच्च हिमाली क्षेत्रमा हिमपात, काठमाडौंमा वर्षा

7
फाइल फोटो

काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले पश्चिम नेपालका पहाडी र तराई भूभागमा वर्षा भइरहेको छ । उच्च पहाडी र हिमाली भेगमा हिमपात पनि भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार यो प्रणालीको सबैभन्दा धेरै प्रभाव सुदूरपश्चिम प्रदेशमा छ ।

बादल क्रमशस् पूर्वतिर सर्दै कोशी प्रदेशसम्मै पुगे पनि जति पूर्व गयो त्यति कम प्रभाव छ । विभागका अनुसार मंगलबार साँझदेखि नै सुदूरपश्चिमका जिल्लाहरुमा हल्का पानी पर्न सुरु गरेको थियो । रातिदेखि पानीको मात्रा र क्षेत्र दुवै बढेको थियो । पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै डडेलधुरामा २९.६ मिलिमिटर वर्षा भएको छ ।

पछिल्लो एक घण्टा यता भने सुदूरपश्चिममा कम र कर्णाली र लुम्बिनी प्रदेशमा बढी पानी परिरहेको छ ।विभागका  अनुसार पानी पार्ने बादल छिटोछिटो पूर्वतिर सरिरहेको छ । यो बादलको प्रभावले पूर्वी पहाडी जिल्लाका भूभागसम्मै वर्षा गराउने पूर्वानुमान छ । काठमाडौं उपत्यकामा पनि आज दिउँसो हल्का पानी पर्ने पूर्वानुमान छ ।काठमाडौंको हकमा मध्याह्नपछि पानी पर्ने सम्भावना छ ।

तर पानी सबैतिर एकनासको पर्दैन ।’  काठमाडौं उपत्यकामा आज घाम लाग्ने सम्भावना कम छ । मधेश र पूर्वी तराईका झापा लगायतका जिल्ला बाहेक प्राय सबैतिर हल्का वर्षा हुने सम्भावना छ । पूर्वीपहाडी जिल्लामा पानी र हिमपात दुवैको सम्भावना रहेको छ। ‘मनाङ, मुस्ताङसहित पूर्वी पहाडी जिल्लाका हिमाली भेगमा मध्यम खालको हिमपात हुनेछ ।

मुक्तिनाथ अवलोकनमा नआउन प्रहरीको अनुरोध

जिल्ला प्रहरी कार्यालय मुस्ताङले हिमपात भइरहेकाले यात्रामा कठिनाइ हुन सक्ने भएकाले सावधानी अपनाउन आग्रह गरेको छ । प्रहरीले सामाजिक सञ्जालमा सन्देश जारी गर्दै भनेको छ, ‘आज बिहानै मुक्तिनाथ लगाएत उपल्लो मुस्ताङका क्षेत्रमा हिमपात परिरहेको र बाटो अवरुद्ध भएकाले यो क्षेत्रमा यात्रा नगर्नुहुन सम्पूर्ण यात्रु साथै सरोकारवालामा जानकारीको लागि अनुरोध गरिएको छ ।’ हिमपात भएपछि मुक्तिनाथलगायतका क्षेत्रममा गएकाहरु बाटोमै रोकिएका छन् ।

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडीमा आज बिहानैदेखि बाक्लो हिमपात भएको छ । जिल्लाका उच्च भेग सिगास, खोडपे, अनारखोली, ढोल्यामोडमा हिमपात भएको हो । हिमपात भएपछि गहुँलगायत हिउँदे बाली सप्रिनेमा यहाँका किसान ढुक्क भएका स्थानीय राजबहादुर टेरले बताए । हिमपातका कारण अत्यधिक चिसो बढेपछि जिल्लाको जनजीवन प्रभावित भएको छ । यसैगरी, ढोरपाटनसहित बागलुङका उच्च पहाडी क्षेत्रमा भारी हिमपात भएको छ । गए रातिदेखि बाक्लो हिउँ परेको छ । हिमपातले ढोरपाटन उपत्यकासहित आसपासका क्षेत्र सेताम्मे भएका छन् ।

समाचार वर्गहरू