देशभर मतदान जारी : मतदातामा देखिएन उत्साह

8

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८२ को मतदान सुरु भएको छ । निर्वाचन आयोगले आज बिहान ७ बजेदेखि देशभर मतदान सुरु भएको जानकारी दिएको हो ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले विहान ७ बजेदेखि देशव्यापी रुपमा मतदान सुरु भएको र सबैतिर निर्वाध ढंगले मतदान भई रहेको खबर आइसकेको बताएका छन् ।

उता मतदाताहरुमा भने उत्साह कम देखिएको पाईएको छ । मतदाताहरुले आज अपराह्न ५ बजेसम्म मतदान गर्न पाउनेछन् ।

निर्वाचन आयोगले मतदाता परिचयपत्र, नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, सवारीचालक अनुमतीपत्र, राहदानी र लालपूर्जा देखाएर मतदान गर्न पाइने जनाएको छ ।

मतदानमा महिला र पुरुषको छुट्टाछुट्टै लाइन हुनेछ । अपांगता भएका, अशक्त, वृद्धवृद्धा, बिरामी, सुत्केरी, गर्भवतीहरुलाई लाइनमा बस्न नपर्ने विशेष सुविधा हुनेछ ।

निर्वाचनका लागि देशभर १० हजार ९६७ मतदान स्थलमा २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएको छ । ३ हजार ६८० वटा अति संवेदनशील मतदान केन्द्र छन् ।

मदतान केन्द्रलाई ४ हजार ४४२ वटा संवेदनशील मतदान केन्द्र र २ हजार ८४५ सामान्य मतदान केन्द्र भनेर वर्गीकरण गरिएको छ ।

१४३ अस्थायी मतदानस्थल तय गरिएको छ । निर्वाचन सुरक्षाका लागि ७९ हजार ७२७ नेपाली सेना, ७५ हजार ७९७ नेपाल प्रहरी, ३४ हजार ५६७ सशस्त्र प्रहरी बल, एक हजार ९२१ राष्ट्रिय अनुसन्धान र एक लाख ४९ हजार ९० निर्वाचन प्रहरी खटिएका छन् । निर्वाचनमा दुई लाख १५ हजार सरकारी कर्मचारी खटिएका छन् ।

समाचार वर्गहरू