दोहा एयरपोर्ट बन्द भएपछि काठमाडौँबाट हुने उडान स्थगीत : नागरिक उड्डयन प्राधिकरण

5

काठमाडौँ । कतारमा हुने हवाई उडान बन्द भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार कतारले दोहा एयरपोर्ट तत्कालका लागि बन्द गर्ने निर्णय गरेकोले आजका लागि हुने उडान रोकिएको जानकारी दिए ।

‘त्यहाँ विमानस्थल बन्द भएपछि यहाँबाट हुने उडान पनि स्वतः रोकिएको छ । युएई कुवेत लगायतका देशको बारेमा अहिलेसम्म खबर आएको छैन’ भुल भन्छन्, ‘हाम्रो तर्फबाट निर्णय हुने विषय नभएकोले हामीले खबर पर्खिरहेका छौँ ।

दोहा चाहिँ बन्द नै भयो ।’ यसैबीच, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले यात्रुहरूलाई विमानस्थलतर्फ प्रस्थान गर्नु अघि सम्बन्धित एयरलाइन्ससँग आफ्नो उडानको पछिल्लो अवस्था अनिवार्य रूपमा बुझ्न अनुरोध गरेको छ।

मध्यपूर्व क्षेत्रको पछिल्लो हवाई क्षेत्र प्रतिबन्धका कारण केही अन्तर्राष्ट्रिय उडानहरू ढिलाइ, पुनः तालिका वा रद्द हुन सक्ने सम्भावना रहेकाले बुझेर मात्रै विमानस्थल आउन विमानस्थलको नागरिक उड्डयन कार्यालयले अनुरोध गरेको छ ।

कार्यालयले एक सूचना जारी गर्दै यात्रुहरूलाई विमानस्थलतर्फ प्रस्थान गर्नु अघि सम्बन्धित एयरलाइन्ससँग आफ्नो उडानको पछिल्लो अवस्था अनिवार्य रूपमा पुष्टि गर्न अनुरोध गरेको हो ।

प्रभावित हुन सक्ने उडान सञ्चालन गर्ने एयरलाइन्सका सम्पर्क नम्बरसमेत सार्वजनिक गरिएको छ। विमानस्थलले यात्रु व्यवस्थापनलाई सहज र प्रभावकारी बनाउन एयरलाइन्स तथा सम्बन्धित निकायहरूसँग नजिकबाट समन्वय गरिरहेको जनाएको छ ।

सातवटा अन्तरराष्ट्रिय विमानस्थलमा हुँदै आएका अन्तरराष्ट्रिय उडान रद्द

काठमाडौं । हवाई उडानमा प्रतिबन्ध लगाइएका कारण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट विभिन्न सातवटा अन्तरराष्ट्रिय विमानस्थलमा हुँदै आएका अन्तरराष्ट्रिय उडान रद्द भएका छन् ।

सारजहा, दोहा, दुबै, कुबेत सिटी, अबुधाबी, कतार तथा दमाम विमानस्थलमा हवाई उडानमा प्रतिबन्ध लगाइएका कारण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट आज दिउँसो र रातिका सबै उडान रद्द गरिएका त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा महाप्रबन्धक टेकनाथ सिटौलाले जानकारी दिए ।

“सारजहा, दोहा, दुबै, कुबेतसिटी, अबुधाबी, कतार र कतार विमानस्थलमा हवाई उडानमा प्रतिबन्ध लगाइएकाले नेपालबाट दिउँसो र राति हुने सबै उडान रद्द गरिएका छन् ।

उडानहरु कहिले खुल्छन् भन्नेबारे अर्को निर्णय भएपछि जानकारी गराइने छ ” उनले भने । यसैगरी, यात्रुलाई आफ्नो उडानका लागि विमानस्थल जानुभन्दा अगाडि सम्बन्धित वायुसेवा कम्पनीमा सम्पर्क गरेर मात्र जान विमानस्थल कार्यालयले आग्रह गरेको छ ।

समाचार वर्गहरू