काठमाडौं – कोरोना भाइरस (कोभिड-१९) बाट उत्पन्न परिस्थितिले उपकरण र जनशक्ति व्यवस्थापनमा कठिनाई भई सुस्ताएको राष्ट्रिय गौरवको काठमाडौ–तराई/मधेश द्रूतमार्गको निर्माणको कामले पुनः गति लिएको छ ।
निर्माण आयोजनाको कामकारवाहीलाई पूर्ण पारदर्शी र गुणस्तरीय तुल्याउँदै तोकिएको समयसीमाभित्रै सम्पन्न गर्ने लक्ष्यसहित निर्माणलाई तीव्रता प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।
आयोजनाका लागि छनोट भएको अन्तर्राष्ट्रिय परामर्शदाताको टोली प्रमुख र स्थानीय विषय विज्ञसमेतको टोलीले स्थलगत सर्भेको काम शुरु भएको छ । कोभिड–१९ कारण पूरै टोली परिचालन हुन बाधा पुगे पनि थोरै जनशक्ति प्रयोगबाट अधिक काम भइरहेको जानकारी दिइएको छ । सेनाका अनुसार महादेवटार, धेद्रे र लेनडाँडामा निर्माण गर्नुपर्ने सुरुङका लागि भू–गर्भसम्बन्धी अध्ययन पूरा गरी प्रतिवेदन तयारीको काम भइरहेको छ । त्यहाँ अहिले सुरुङका लागि ड्रिलिङ गरी नमूना परीक्षणको काम भइरहेको जानकारी दिइएको छ ।