धेरै विद्यार्थी फेल भएको भन्दै कक्षा १० को सामाजिक विषय दुई वर्षमै फेरिँदै

229

काठमाडौं – पाठ्यक्रम विकास केन्द्रले आगामी शैक्षिक सत्रदेखि लागू हुने गरी कक्षा १० को सामाजिक अध्ययन विषयको पाठ्यक्रम फेरबदल गर्ने भएको छ ।

सामाजिक अध्ययन विषयमा धेरै विद्यार्थी अनुत्तीर्ण भएको सर्वत्र गुनासो आएपछि केन्द्रले दुई बर्षमै पाठ्यक्रम परिवर्तनको गृहकार्य गरेको हो ।

राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ अनुसार दुई वर्षको अन्तरालमा पाठ्यक्रम परिवर्तन गर्न पाइँदैन । तर, राष्ट्रिय पाठ्यक्रम प्रारूपअनुसार कुनै पनि पाठ्यपुस्तक हरेक वर्ष अपडेट, पाँच वर्षमा परिमार्जन र १० मा परिवर्तन गर्नुपर्ने हुन्छ ।

तर, विद्यार्थीको सिकाइयुक्त नहुने देखिएकाले परिवर्तन गर्न लागिएको केन्द्रका महानिर्देशक इमनारायण श्रेष्ठले जानकारी दिए । उनका अनुसार केन्द्रले चालू शैक्षिक सत्रमै पाठ्यक्रम परिवर्तन र निर्माणको तयारी गर्दै आगामी वैशाखदेखि नयाँ पाठ्यक्रम लागू गराउन लागेको हो ।

‘शिक्षक र विद्यार्थीबाट यो पाठ्यक्रम अप्ठ्यारो भएको गुनासो आयो । सबैको राय–सुझाबअनुसार परिवर्तन गर्न लागेका हौँ, यसले विद्यार्थीलाई सहज हुनेछ, अनुत्तीर्ण दर कम हुनेछ,’ उनले भने ।

गत असारमा प्रकाशित ०८० को एसइई नतिजामा सामाजिक अध्ययन विषयमा ७३ हजार ८७७ जना विद्यार्थीले ननग्रेड पाएका थिए । ठुलो संख्यामा विद्यार्थी अनुत्तीर्ण भएको मुख्य कारण पाठ्यक्रम जटिल भएकाले भन्ने सुझाव आएपछि परिवर्तन गर्न लागिएको उनको भनाइ छ ।

समाचार वर्गहरू