नर्भिकमा अत्याधुनिक क्याथ ल्याब स्थापना

17

काठमाडौं – नर्भिक इन्टरनेशनल हस्पिटलले शनिबारबाट क्याथ ल्याब सेवा सञ्चालनमा ल्याएको छ । विश्व मुटु दिवसका अवसर पारेर नर्भिकका अध्यक्ष बसन्त कुमार चौधरीले सो क्याथ ल्याब सेवाको उदघाटन गरे ।

नयाँ क्याथ ल्याब नर्भिकले सन् २००० को अगस्ट महिनामा जडान गरेको राष्ट्रकै पहिलो क्याथल्याब पछिको तेस्रो पुस्ताको क्याथ ल्याब हो । सो क्याथ ल्याब अत्यन्तै नविनतम सुविधा र प्रविधिले सुसज्जित भएको हुँदा मुटुका रक्तनली, हातखुट्टाका रक्तनली र मुत्र प्रणालीका रक्तनली आदिको इन्टरभेन्सन्स् सुरक्षित छिटो र छरितो गर्न सकिनुका साथै न्युरो नेभिगेसनमा समेत अत्यन्त भरपर्दो हुने नर्भिक इन्टरनेशनल हस्पिटलले जनाएको छ ।

नर्भिकले विविध कार्यक्रमका साथ शनिबार यस वर्षको विश्व मुटु दिवस मनाएको छ । यस वर्षको विश्व मुटु दिवस असोज १२ गते आइतबार घटस्थापनाको दिन पर्न गएको छ । विश्व मुटु महासंघको आह्वानमा हरेक वर्ष सेप्टेम्बर महिनाको २९ तारीख यो दिवस मनाइन्छ । सन् २००० को सेप्टेम्बर २४ तारीखदेखि मनाउन थालिएको यस दिवसले झण्डै २ दशकलाई स्पर्श गर्न गइरहेको छ ।

विश्वव्यापी रुपमा बढ्दै गएको मुटु रोगबारे वृहत् जनचेतनाको अभिवृद्धि गर्नु/गराउनु र रोग रोकथामका उपायहरू अवलम्बन गराउन जनमानसलाई अभिप्रेरित गराउनु नै यस दिवसको मुख्य उद्देश्य रहेको अस्पतालले जनाएको छ ।

सूर्ति तथा सूर्तिजन्य पदार्थको व्यापक प्रयोग, मधुमेह, अस्वस्थ आहार–व्यवहार, मद्यपान, उच्च रक्तचाप, उच्च रक्त कोलेस्टेरोल, ज्यादा मोटोपना, शारीरिक निस्क्रियता वा विलासपूर्ण जीवनशैलीका कारण विश्वभर कै मानिसहरु यसको चपेटामा पर्दै आएका छन् । हाल विश्व भरका १ करोड ७५ लाख भन्दा बढी मानिसहरूले प्रत्येक वर्ष यस रोगका कारण ज्यान गुमाइरहेका छन् । नेपालमा पनि शहरी जनसंख्याको झण्डै ७ देखि ८ प्रतिशत मानिसहरू कुनै न कुनै प्रकारका मुटुरोगबाट ग्रसित छन् ।

विश्व मुटु दिवस मनाउने सिलसिलामा नेपाल लगायत विश्वका १५० भन्दा बढी देशहरूमा अर्थात् विश्वभर नै मुटुरोग परीक्षण शिविरहरू, रोगबारे जनचेतना तथा रोकथामका उपायहरूबारे प्रवचन शिक्षा मूलक प्रशिक्षण तथा अन्य विविध कार्यक्रमहरू गरिन्छ । यस वर्षको विश्व मुटु दिवसको नारा “स्वस्थ मुटुको नायक बनौं ” रहेको छ ।

नर्भिकमा आयोजित समारोहमा नर्भिकमा गत वर्ष सफल मुटुरोग उपचार गराई स्वस्थ जीवन यापन गर्दै आएका बिरामीहरू सहित करीब २०० जना विशिष्ट व्यक्तित्वहरू सहभागी थिए । कार्यक्रमको प्रमुख आतिथ्य हीस्पटलका अध्यक्ष बसन्त चौधरीले गरेका थिए । वरिष्ठ मुटुरोग विशेषज्ञ तथा नर्भिकका मुटुरोग विभागका निर्देशक प्रा। डा। यादवदेव भट्ट, फिजिसियन तथा मुटुरोग विशेषज्ञ डा.जे.पी. जैसवाल लगायतका वक्ताहरुले मुटुरोगका विविध विषयहरुमा प्रकाश पारेका थिए ।

कार्यक्रममा आफ्नो स्वागत मन्तव्य राख्दै प्रा। डा। यादवदेव भट्टले नेपालमा मुटुरोग विधालाई विश्वस्तरीय पार्न विविध विशेषज्ञ सेवा थप गर्दै “इन्टेन्सिभ केयर स्पेशलिष्ट” को सेवा थप्ने व्यहोरा प्रस्तुत गरे । नर्भिक बहुआयामिक, बहु बैशिष्टय हस्पिटल भएकै कारण नर्भिकमा उपलब्ध पेट तथा कलेजो रोग, पेट सम्बन्धी शल्यक्रिया प्रसूति तथा स्त्रीरोग, स्नायुरोग तथा स्नायु शल्यक्रिया जस्ता विधामा समेत नर्भिकको सेवा उच्चस्तरको रहेको डा. भट्टले बताए ।

समाचार वर्गहरू