नवनियुक्त मन्त्रीरुहद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

12

(काठमाडौं) – नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा बिहीबार बिहान आयोजित एक समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त ६ मन्त्रीलाई शपथ गराएकी हुन् ।

नेपालको संविधानको धारा ८० बमोजिम नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति भवन, शीतल निवासमा आयोजित विशेष समारोहमा मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

३ राज्य मन्त्रीहरूलाई भने प्रधानमन्त्रीले शपथ गराएका छन् । शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत उपस्थित भएका थिए ।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार मन्त्रिपरिषद् हेरफेर गरेकी थिइन् । नवनियुक्त मन्त्रीहरूलाई राष्ट्रपतिले र राज्यमन्त्रीलाई प्रधानमन्त्रीले शपथ गराउने संवैधानिक व्यवस्था अनुसार त्यसको भोलिपल्ट शपथ गराइएको हो । शपथसँगै नवनियुक्त मन्त्रीहरूलाई मन्त्रालयको काम गर्न बाटो खुलेको छ ।

नवनियुक्त मन्त्रीहरूमा नेकपा सांसदहरू वसन्त नेम्वाङ, घनश्याम भुसाल, हृदयेश त्रिपाठी र पार्वत गुरुङ, लेखराज भट्ट र रामेश्वर राय यादव छन् । नेम्वाङलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

त्यस्तै भुसाललाई कृषि तथा पशुपन्छी मन्त्रालय, हृदयेश त्रिपाठीलाई संघीय मामिला तथा सामान्य प्रशासन र पार्वत गुरुङलाई महिला बालवालिका तथा जेष्ठ नागरिक मन्त्रयको जिम्मेवारी दिइएको छ ।

रामेश्वर राय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र लेखराज भट्टलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिइएको छ । पुराना ८ जना मन्त्री भने बर्खास्तीमा परेका छन् ।

समाचार वर्गहरू