नागरिकको अपेक्षा अनुसार काम गर्न गराउन प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको निर्देशन

7

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नागरिकको अपेक्षाअनुसार जिम्मेवारी बहन गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् । महानिरीक्षक कार्कीले बुधबार आफू मातहतका निकायसँगको ‘भर्चुअल’ बैठकमा सबै प्रहरी कर्मचारीले आफ्नो उच्च व्यावसायिकता प्रदर्शन गर्दै थप अनुशासित, निष्ठावान् एवम् इमानदार हुनुपर्ने बताए ।

उनले निर्वाचनलाई शान्तिपूर्ण, भयरहित एवम् निष्पक्ष वातावरणमा सफलतापूर्वक सम्पन्न गराउन सम्पूर्ण प्रहरी कर्मचारीले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको उल्लेख गरे । प्रहरी महानिरीक्षक कार्कीले आ–आफ्नो जिम्मेवारी क्षेत्रको विस्तृत जानकारी राखी योजनाबद्ध रूपमा सुरक्षा व्यवस्थापनलाई थप मजबुत बनाउँदै लैजानुपर्ने बताए ।

उनले आ–आफ्नो क्षेत्रमा कुनै पनि आपराधिक क्रियाकलाप र घटनाहरू हुन नदिन सूचना सङ्कलन तथा विश्लेषणलाई प्राथमिकतामा राखी प्रहरी कर्मचारीहरू सदैव तयारी हालतमा रहनुपर्ने उल्लेख गरे ।

प्रहरी महानिरीक्षक कार्कीले सीमा नाकामा हुनसक्ने आपराधिक गतिविधि, फरार प्रतिवादी पक्राउ, हातहतियार बरामदलगायतमा विशेष सुरक्षा योजना अपनाई कार्यान्वयन गर्न निर्देशन दिए ।

आगामी दिनमा कार्यसम्पादन सम्झौताको कार्यान्वयनमा थप व्यावसायिकता प्रदर्शन गर्दै कार्य गर्नुपर्ने तथा हिरासत व्यवस्थापनमा समेत विशेष सतर्कता अपनाई कार्य गर्नुपर्ने उनको भनाइ थियो ।

बैठकमा नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक उमाप्रसाद चतुर्वेदी, अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौर र प्रदेश समन्वय विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक डम्बरबहादुर विकले समेत समसामयिक विषयमा निर्देशन दिएका थिए ।

समाचार वर्गहरू