निर्वाचन आयोगमा नेकपाको वैधानिकतामा फेरि लफडा

153
फोटो - रासस

काठमाडौं – नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी सहित १२ वाम दल मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टी नामकै कारण फेरि कानुनी झमेलामा फसेको छ ।

आयोगमा दर्ता भएको नेपाल कम्युनिस्ट पार्टीसँग मिल्दोजुल्दो गरी दर्ता गराएको भन्दै अध्यक्ष लोकनारायण सुवेदीले नेकपाविरुद्ध कात्तिक २६ गते आयोगमा उजुरी दिएका थिए । तर उजुरीमाथि कुनै सुनुवाइ नगरी आयोगले दल दर्ताको प्रमाणपत्र दिएको सुवेदीले आरोप लगाएका छन् ।

उनले प्रचण्ड र माधव नेपालको बलमिच्याइँविरुद्ध सर्वोच्च अदालतमा जाने बताएका छन् ।‘हाम्रो पार्टीको नामसँग मिल्दोजुल्दो गरी नेपाली कम्युनिस्ट पार्टी दर्ता नगर्न मैले आयोगमा उजुरी दिएको थिएँ । तर उजुरीमाथि कुनै सुनुवाइ नगरी आयोगले दल दर्ता प्रमाणपत्र दिएको सुनेको छु । प्रचण्ड र माधवको बलमिच्याइँविरुद्ध न्यायिक निरुपणका लागि सर्वोच्च अदालत जान्छौँ,’ उनले भने ।

तर नेपाली कम्युनिस्ट पार्टीका नेता सुवेदीको पार्टीसँग आफ्नो पार्टी मेल नखाने नेपाली कम्युनिस्ट पार्टीका नेता राजेन्द्रप्रसाद पाण्डेले दाबी गरे ।

‘लोकनारायणजीको पार्टी नेपाल कम्युनिस्ट पार्टी हो, हाम्रो पार्टी नेपाली कम्युनिस्ट पार्टी हो । छोटकरी नाममा पनि उहाँले सीपीएन भन्नुभएको छ । हामीले एनसीपी भनेका छौँ । सबै कुरा फरक छ । त्यसकारण निर्वाचन आयोगले दल दर्ता गरिसकेको हो,’ पाण्डेले भने ।

यता नेपाली कम्युनिस्ट पार्टीलाई मान्यता दिएको विषयमा आयोगका कार्यवहाक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले भाषा विदसँग सल्लाह गर्दा पार्टी फरक भएकाले दलको मान्यता दिएको बताए ।

‘नेपाली कम्युनिस्ट पार्टीविरुद्ध लोकनारायण सुवेदीले उजुरी दिनुभएको थियो । यस विषयमा हामीलले कानुनका जानाकार र भाषा विदसँग छलफल गर्‍यौँ । लोकनारायणको पार्टीको अगाडि नेपाल छ । प्रचण्डको पार्टीको अगाडी नेपाली छ,’ उनले तर्क गरे, ‘नेपाल भनेको देश बुझाउँछ । नेपाली भनेका जनता बुझाउँछ । आयोगमा पहिल्यै दर्ता भएको कम्युनिस्ट पार्टी अफ नेपाल हो । अहिले दर्ता भएको नेपाली कम्युनिस्ट पार्टी हो । जहाँसम्म नेपाली छोटकरी नाम उस्तै भयो भन्ने सवालमा नेपाली कम्युनिस्ट पार्टीले सर्ट नाम राख्न पाउँदैन ।’

समाचार वर्गहरू