काठमाडौं – कांग्रेस सभापति शेरबहादुर देउवाले गृहमन्त्री रमेश लेखकलाई राजीनामा दिन नपर्ने बताएका छन् ।
भिजिट भिसा भ्रष्टाचार प्रकरणमा मुछिएका लेखकले पार्टीलाई अफ्ठ्यारो परेको हो भने आफू राजीनामा दिन तयार रहेको बताउँदा देउवाले राजीनामा दिन नपर्ने बताएका हुन् ।
सोमबार बिहान देउवानिवास बूढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकमा गृहमन्त्री लेखकले प्रकरणमा आफू संलग्न नभएको स्पष्टिकरण थिए । तर पार्टीलाई अफ्ठ्यारो परेको हो भने राजीनामा दिन तयार रहेको उनको भनाइ थियो ।
यद्यपि उनलाई सभापति देउवाले राजीनामा दिन नपर्ने बताएको बैठक स्राेतले जानकारी दिएको छ । ‘उहाँ (गृहमन्त्री)ले आफूमाथि लागेको आरोपबारे ब्रिफिङ गर्दै पार्टीलाई क्षति पुगिरहेको छ भने राजीनामा दिन्छु भन्नुभयो’, बैठकमा सहभागी एक नेताले भने, ‘सभापतिज्यूले त्यो पर्दैन भन्नुभयाे ।’
‘अन्य गृहमन्त्रीहरूले पनि विभिन्न आरोपहरूको सामना गरेका छन् । आरोपहरू आउँछन् र जान्छन्’, देउवाको भनाइ भन्दै ती पदाधिकारीले भने, ‘राजीनामा दिन आवश्यक छैन । पार्टी साथमा छ ।’
बैठकमा लेखकले शेखर कोइरालालाई इंगित गर्दै बाहिरबाट राजीनामा माग्नुभन्दा सीधै आफूलाई फोन गरेर भनेको भए उचित हुने धारणा राखेका थिए ।