नेकपाको २४९९ सदस्यीय केन्द्रीय कमिटीको शपथ मंगलबार गरिदै

10

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले २४९९ सदस्यीय केन्द्रीय कमिटीको शपथ मंगलबार आयोजना गरेको छ । उक्त कार्यक्रम भौतिक र भर्चुअल गरी दुवै विधिले सम्पन्न हुने भएको छ । नेकपाका नेता गंगालाल तुलाधरले जारी गरेको एक सूचनाअनुसार काठमाडौं उपत्यमा रहेकाले मंगलबार (पुस २९) दिउँसो १ बजे पार्टी कार्यालय, पेरिसडाँडामा उपस्थित भएर भौतिक रुपमा र उपत्यका बाहिर रहेकाले सम्बन्धित प्रदेश, जिल्ला वा पालिका कार्यालयमा गएर भर्चुअल रुपमा शपथ लिन सक्नेछन् ।

शपथ लिएका केन्द्रीय सदस्यहरुले केन्द्रीय कार्यालयमा १ हजार रुपैयाँ तिरेपछि परिचयपत्र दिने व्यवस्था रहेको तुलाधरद्वारा जारी सूचनामा उल्लेख छ । शपथमा सहभागी हुने २४९९ सदस्यी केन्द्रीय सदस्यको नामावली टुङ्‍गो लगाउन अहिले पेरिस डाँडामा ६ सदस्यीय कार्यदलको बैठक बसिरहेको छ । उक्त कार्यदलमा पूर्वमाओवादीका तर्फबाट देव गुरुङ, वर्षमान पुन र गिरिराजमणि पोखरेल छन् । तत्कालीन एकीकृत समाजवादीको तर्फबाट प्रमेश हमाल, बेदुराम भुसाल र प्रकाश ज्वाला छन् ।

२४९९ कै सङ्‍ख्याभित्रबाट पदाधिकारी, केन्द्रीय कार्यालय, सचिवालय, विभिन्न आयोग, विभाग तथा निकायहरु बनाइने तयारी रहेको नेकपा स्रोतले जनाएको छ । एकतामा सामेल भएका विभिन्न वाम घटकमध्ये तत्कालीन नेकपा एसका नेताहरुले आ–आफ्ना तर्फबाट अलग अलग नाम पेश गरेका छन् । सहसंयोजक माधवकुमार नेपाल, नेताहरु झलनाथ खनाल, वामदेव गौतमलगायतले आ–आफ्ना समूहका अलग अलग नाम दिएको र उनीहरुले पदाधिकारी, सचिवालयलगायतका जिम्मेवारी माग गरेका छन् । नेकपा स्रोतका अनुसार तत्कालीन एसको तर्फबाट नाम टुङ्‍ग्याउने कार्यदलमा रहेका हमाल र भुसाल माधवपक्षका हुन्, ज्वालाले झलनाथको प्रतिनिधित्व गर्छन् ।

समाचार वर्गहरू