नेपाल एयरलाइन्स सञ्चालक सदस्य पदको नियुक्ति विवादमा : पर्यटनमन्त्री खडकराज पौडेलका विरुद्ध उजुरी

44

काठमाडौँ । नेपाल एयरलाइन्सको सञ्चालक सदस्य पदमा गरिएको नियुक्ति विवादमा तानिएसंगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल (गनेश) लगायतको विरुद्धमा उजुरी हालिएको छ । गत वैशाख ३१ गते कास्कीका डा दीपक प्रसाद बास्तोला, चितवनका प्रविन भट्टराई, ललितपुरका महेश्वर भक्त श्रेष्ठ, काठमाडौँका रुपा लामिछाने र स्याङ्जाका लिलाराज ढकाललाई सञ्चालक समितिमा नियुक्त गर्ने निर्णय गरेपनि सो विवाद उत्पन्न भएको थियो ।

मन्त्री खडक राज पौडेल (गनेस) को मन्त्रीस्तरीय निर्णयबाट भएको नियुक्ति सम्बन्धी सो विषय विवादमा तानिएको बताइएको छ । प्रतिस्पर्धामा २७ जना रहेकामा मन्त्री पौडेलले चलखेल गरेर ५ जना छानेको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसम्म उजुरी परेको बताइएको छ । ५ जनाको नियुक्ति सम्बन्धी निर्णयबारे जानकारी दिन मन्त्रालयका सहसचिव जयराज अचार्यले जारी गरेको सूचनामा शैक्षिक योग्यता र अनुभव, व्यावसायिक कार्ययोजना परीक्षण, प्रस्तुतीकरण र अन्तर्वार्तापछि छनौट गरिएको भनिएपनि खुला प्रतिस्पर्धामा प्राप्त अंकलाई बेवास्ता गर्दै मनपरीरुपमा निर्णय गरेर सुशासनलाई नै धक्जी उडाउने काम मन्त्रीबाट भएको उजुरीमा उल्लेख छ ।

२०८३ वैशाख १२ गते गोरखापत्रमा नेपाल वायुसेवा निगमको सञ्चालक सदस्य पदका लागि दरखास्त आह्वान भएको थियो । जेनजी आन्दोलनप्रश्चात सुशासन कायम गर्ने उद्देश्यसहित वर्तमान सरकार बनेपनि मन्त्रालयले चलखेलका आधारमा सञ्चालक सदस्य नियुक्ति गर्नु सरकारको सुशासनप्रतिको प्रतिबद्धतामाथि नै प्रश्न उत्पन्न भएको प्रधानमन्त्री कार्यालयमा दर्ता भएको उजुरीमा उल्लेख छ ।

उजुरीमा भनिएको छ, ‘पारदर्शिता, निष्पक्षता तथा सुशासनको मर्मलाई आत्मसात् गर्दै सम्बन्धित उम्मेदवारहरूको प्राप्तांकसहित विस्तृत नतिजा सार्वजनिक गर्न तथा आवश्यक छानबिनपश्चातमात्र नियुक्ति प्रक्रिया अघि बढाउन प्रधानमन्त्रीज्यूसमक्ष विनम्र अनुरोध गर्दछु’, निवेदनमा भनिएको छ । यस विषयमा प्रधानमन्त्री बालेन शाहसमक्ष ब्रिफिङ भइसकेको र आन्तरिक छानबिन चलिरहेको स्रोतको दाबी छ । स्रोतका अनुसार आवेदन दिने २४ जनालाई वैशाख २५ गतेको सूचनाअनुसार २७ गते अन्तर्वार्ता तथा व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरणमा सहभागी गराइएको थियो ।

उक्त प्रस्तुतीकरणमा कम नम्बर पाएकाहरूलाई नै चलखेलका आधारमा नियुक्ति दिइएको दाबी उजुरीमा उल्लेख छ । यस्तो सञ्चालक नियुक्ति गर्दा शैक्षिक योग्यतालाई अंकभार ४, अनुभवका लागि अंकभार ४, व्यावसायिक कार्ययोजनका लागि अंकभार १५ र प्रस्तुतीकरणका लागि पनि अंकभार १५ नै कायम गरिएको छ । यस्तै अन्तरवार्ताका लागि अंकभार १० कायम गरिएको छ । नेपाल वायुसेवा निगम ऐन २०१९ तथा नियमावलीमै यो व्यवस्था रहेको छ । मन्त्री पौडेलले सार्वजनिक रुपमै यसअघि सञ्चालक पदपूर्ति गर्दा योग्यता र क्षमताको आधारमा पदपूर्ति गर्ने बताएका थिए ।

२०८३ वैशाख १२ गते गोरखापत्रमा नेपाल वायुसेवा निगमको सञ्चालक सदस्य पदका लागि दरखास्त आह्वान भएको थियो । जेनजी आन्दोलनप्रश्चात सुशासन कायम गर्ने उद्देश्यसहित वर्तमान सरकार बनेपनि मन्त्रालयले चलखेलका आधारमा सञ्चालक सदस्य नियुक्ति गर्नु सरकारको सुशासनप्रतिको प्रतिबद्धतामाथि नै प्रश्न उत्पन्न भएको प्रधानमन्त्री कार्यालयमा दर्ता भएको उजुरीमा उल्लेख छ ।

तर, नियुक्ति गर्दा भने चलखेलको आधारमा निर्णय भएको आरोप लागेको हो। यस विषयमा प्रतिक्रिया लिन मन्त्री पौडेललाई सम्पर्क गर्दा उनी सम्पर्कमा आएनन् । तर मन्त्रालयका प्रवक्ता जयनारायण आचार्यले उक्त नियुक्ति पूर्णतः योग्यताका आधारमा भएको दाबी गरेका छन । उनले नियुक्ति प्रक्रियामा सहभागी उम्मेदवारहरूको कार्ययोजना विज्ञहरूद्वारा गोप्य रूपमा मूल्याङ्कन गरिएको थियो।

‘विज्ञ टोलीले कार्ययोजनाको आधारमा गरेको मूल्याङ्कनमा जो उत्कृष्ट ठहरिए, उनीहरूलाई नै मेरिटको आधारमा नियुक्त गरिएको हो,’ उनले थपे। नियुक्तिको विषयलाई लिएर प्रधानमन्त्री कार्यालयलगायतका निकायमा उजुरी परेको सम्बन्धमा सोधिएको प्रश्नमा उनले यसको अर्थ नभएको प्रतिक्रिया दिए । उनले भने, ‘उजुरी हाल्ने कुरा आफ्नो ठाउँमा होला, तर यो नियुक्ति पूर्णतः विधि सम्मत, पारदर्शी र मेरिट बेस छ। यसमा कुनै समस्या छैन।’

समाचार वर्गहरू