नेपाल पत्रकार महासंघको निर्वाचन गर्न पुन: अर्को कार्यतालिका सार्वजनिक

58

काठमाडौं – सदस्यता शुद्धिकरणको विषयलाई लिएर विवादीत बनेको नेपाल पत्रकार महासंघको आसन्न निर्वाचन मंसिर २८ गते गर्ने गरि निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ ।

पटकपटक तोकिएको समयमा निर्वाचन हुन नसकेपछि मंगलबार पुन ः नयाँ निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ । पत्रकार महासंघको लेटरप्याड विनानै सार्वजनिक गरिएको सो कार्यतालिका बारेमा समेत शंका उपशंका उत्पन्न भएको पत्रकारहरुले बताएका छन् ।

सादा पानामा महासंघको छापा लगाई केन्द्रीय निर्वाचन समितिको नाममा सार्वजनिक गरिएको निर्वाचन कार्यतालिकामा निर्वाचन समितिका नाममा रहेको छ । नयाँ निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारको मनोनयन दर्ताको समय मंसिर २१ गते बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म तोकिएको छ ।

उम्मेदवारको नामावली प्रकाशन त्यसै दिन साँझ ५ बजे, उम्मेदवारमाथि दाबी विरोध गर्न पाउने त्यसै दिन साँझ ५ बजेदेखि मंसिर २१ गते साँझ ७ बजेसम्म तोकिएको छ । कार्यतालिका अनुसार उम्मेदवारले मनोनयन फिर्ता लिने मंसिर २१ गते बिहान १० बजे र उम्मेदवारको अन्तिम नामावली प्रकाशन मंसिर २२ गते बिहान ११ बजे रहेको छ ।

कार्यतालिका अनुसार मंसिर २८ गते बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म मतदान हुनेछ भने त्यसै दिन मतदानको लागि तोकिएको समय सकिएपछि मतगणना सुरु हुने उल्लेख छ । कार्यतालिका अनुसार प्रदेश समितिको मनोनयन दर्ता मंसिर २४ गते र जिल्ला शाखा र प्रतिष्ठान शाखाको मंसिर २६ गते मनोनयन दर्ता गर्ने व्यवस्था मिलाउन सम्बन्धित निर्वाचन समितिलाई केन्द्रीय निर्वाचन समितिले आग्रह गरेको छ ।

सार्वजनिक कार्यतालिका अनुसार निर्वाचनमा भाग लिने मतदाताको नामावली मंगलबार बिहान नै सार्वजनिक भइसकेको छ । महासंघका अध्यक्ष विपुल पोखरेलले महासंघको तोकिएको मितिमा निर्वाचन गराउन असफल भएपछि महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएर राजीनामा दिएका थिए ।

विष्टले पुन निर्वाचन कार्यतालिका सार्वजनिक गरेर निर्वाचन गराउन नसकेपछि उनले पनि राजीनामा दिएका थिए भने अहिले महासंघको कार्यवाहक अध्यक्षको जिम्मेवारीमा उपाध्यक्ष बाला अधिकारी लिएपनि विवाद मुक्त भने अझै हुन सकेको छैन । महासंघको प्रदेश तथा जिल्ला अध्यक्षको गत असोज १० मा भक्तपुरमा सम्पन्न राष्ट्रिय भेलाले मंसिर २८ गते निर्वाचन गर्ने मिति तय गरेको थियो ।

अहिलेसम्म ५ पटक निर्वाचनेको मिति तोकिए पनि महासंघको निर्वाचन हुन सकिरहेको छैन । महासंघको निर्वाचन नै गराउन नसकेकाले यस पटकको महासंघको कार्यसमितिलाई इतिहासकै सबैभन्दा कमजोर कार्यसमिति रहेको पत्रकारले टिप्पणी गर्दै आएका छन् ।

समाचार वर्गहरू