पदाधिकारीको प्यानल बनाउँदै ओली र पोखरेल

74

काठमाडौं – एमालेको ११ औं महाधिवेशनमा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्न लागेका केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानलको तयारीमा लागेका छन् । महाधिवेशन २७–२९ मंसिरमा काठमाडौंमा हुँदै छ ।

संस्थापनइतर पक्षबाट अध्यक्षमा प्रतिस्पर्धा गर्न लागेका वरिष्ठ उपाध्यक्ष पोखरेल यसपटक इतरपक्षबाट पूर्वराष्ट्रपति विद्या भण्डारीलाई अघि सार्ने तयारी भए पनि उनको सदस्यता नवीकरण रोकिएपछि नेतृत्वमा उठ्न लागेका हुन् ।

पोखरेलको पक्षमा उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, सचिवद्वय गोकर्ण विष्ट, योगेश भट्टराई र स्थायी कमिटी सदस्य कर्ण थापा खुलेका छन् ।

सचिव रघुवीर महासेठ दुवै पक्षबाट आकर्षक ‘अफर’ को प्रतीक्षामा छन् । उनी हालसम्म कतै खुलेका छैनन् । ‘मैले अहिले उम्मेदवारी दिनेबारे निर्णय गरिसकेको छैन,’ महासेठले भने, ‘बाहिर यो पक्ष, त्यो पक्ष भनेर अनुमान गर्नु उचित होइन ।’ संस्थापनइतरबाट अध्यक्षमा पोखरेलसँगै महासचिवमा सुरेन्द्र पाण्डे वा योगेश भट्टराई उठ्ने तयारी छ ।

संस्थापनबाट ओली अध्यक्ष र शंकर पोखरेल महासचिवमा दोहोरिने अवस्थामा इतरपक्षबाट अध्यक्षमा पोखरेल र महासचिवमा पाण्डे उठ्ने तयारी छ । संस्थापनबाट महासचिवमा प्रदीप ज्ञवालीले उम्मेदवारी दिएमा इतरपक्षबाट योगेश भट्टराई लड्ने तयारी छ । ज्ञवाली महासचिवका आकांक्षी छन् । इतरपक्षमा रहेका उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले दोहोरिने रुचि देखाएका छैनन् ।

संस्थापन पक्षमा उम्मेदवारको सूची अध्यक्ष ओलीको ‘खल्ती’ बाट निस्कने भएकाले आकांक्षी नेताहरूले उनकै मुख ताकिरहेका छन् । उपाध्यक्ष विष्णु पौडेलले आफूले अध्यक्ष र महासचिवबाहेक अन्य पदमा उम्मेदवारी दिने बुधबार बताएका थिए । उपमहासचिव पृथ्वी सुब्बा गुरुङ महासचिवको आकांक्षी छन् । संस्थापनले महासचिव नदिए के गर्ने भन्ने निर्णय लिइसकेका छैनन्  ।

एमालेको विधानमा १५ पदाधिकारी बनाउने प्रावधान भएकाले ओलीलाई नेताहरूको व्यवस्थापन चुनौती छ । तीन उपमहासचिव, सात सचिवका लागि आकांक्षी नेता धेरै छन् । संस्थापनबाट उपाध्यक्षमा रामबहादुर थापा, गुरु बराल, विष्णु रिमालको सम्भावना छ । उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ, छविलाल विश्वकर्मा र पद्मा अर्याल आकांक्षी छन् । सात जना सचिवका लागि एक दर्जन नेताहरू आकांक्षी छन् । त्यसमा भीमप्रसाद आचार्य, खगराज अधिकारी, भानुभक्त ढकाल, किरण गुरुङ, काशीनाथ अधिकारी, महेश बस्नेत, रघु पन्त, शेरधन राई, राजन भट्टराई, अग्नि खरेल, राजेन्द्र गौतम, हिक्मत कार्की, युवाबाट सूर्य थापा, नीरज आचार्य, पदम गिरी, विशाल भट्टराईलगायत नेता आकांक्षी छन् । हाल पदाधिकारीबाहेक २३ स्थायी कमिटीमध्येका अधिकांश सचिवका आकांक्षी छन् ।

पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाले कतै नलागी स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका छन् । ‘महाधिवेशन प्रतिनिधिहरूले गोप्य रूपमा मतदान गर्ने भएकाले म किन संस्थापन वा विस्थापन भनेर लागौं अहिले ?’ उनले भने, ‘म पदाधिकारीमा प्रतिस्पर्धा गर्छु ।’

वरिष्ठ उपाध्यक्ष पोखरेल पक्षबाट उपमहासचिवमा गोकर्ण विष्ट, सचिवमा कर्ण थापा, बिन्दा पाण्डे, ठाकुर गैरे, रचना खड्काले उम्मेदवारी दिने तयारी गरेका छन् । उपाध्यक्षलगायत अन्य पदाधिकारी पदमा उम्मेदवारी दिने बेला घोषणा गर्ने तयारी छ । ‘पोखरेल पक्षबाट सबै पदमा उम्मेदवारी हुनेछ’ पोखरेल पक्षका नेता कर्ण थापाले भने, ‘हामी गम्भीर गृहकार्यमा छौं । टिम बनाउन समस्या छैन ।’ पोलिटब्युरो सदस्य महेश बस्नेतले अध्यक्ष ओलीको निर्देशनअनुसार उम्मेदवारी दिने बताए । ‘अध्यक्षको निर्देशनअनुसार उम्मेदवारी दिने हो । हालसम्म अध्यक्षको मात्र उम्मेदवारी टुंगो लागेको छ,’ उनले भने, ‘अरू उम्मेदवारी दिने दिनमा एक क्षणमा टुंगो लाग्छ ।’ ओलीले आफ्नो ‘प्यानल’ बनाएपछि पोखरेल पक्षले टिम बनाउने रणनीति बनाएको छ ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले टिम बनाउनेबारे छलफल भइरहेको बताए । ‘कस्तो टिम बनाउने हामी छलफल गर्छौं । विचार मिल्नेहरू एक ठाउँमा आउनु स्वाभाविक छ । एक ठाउँमा आबद्ध भएर साथीहरू अगाडि बढ्न सक्नुहुन्छ’ उनले आफूलाई पूर्वराष्ट्रपति भण्डारीको समर्थन रहेको जानकारी दिए, ‘विद्या भण्डारी नेकपा एमालेको मान्छे हो । एमालेको भलो चिताउने मान्छे हो । त्यसकारण त्यस्तो व्यक्तिले पार्टीलाई नयाँ ढंगले अगाडि बढाउन चाहने कुरा गरिरहेका साथीहरूलाई समर्थन गर्ने कुरा स्वाभाविक हो । उहाँले हाम्रो यो उम्मेदवारीप्रति ऐक्यबद्धता र समर्थन जनाउनुभएको छ ।’

उनले ओलीले पार्टी अध्यक्षको हैसियतले धेरै काम गरिसकेकाले अब बिदा लिनुपर्ने बताए । ‘०७२ सालदेखि ०८२ सालसम्म संविधान जारी भएपछि १० वर्षको अवधिमा लगभग छ वर्ष प्रधानमन्त्री हुनुभयो । उहाँले धेरै महत्त्वपूर्ण अवसर पनि प्राप्त गर्नुभयो र योगदान पनि गर्नुभयो । सँगसँगै कमजोरीहरू पनि भए,’ उनले भने, ‘उहाँ (ओली) ले निरन्तरता दिनुहुन्न, अब त अभिभावकको हिसाबले, संरक्षकको हिसाबले बस्नु राम्रो हुन्छ ।’

भदौको विधान महाधिवेशनबाट ७० वर्षे उमेरहद र दुई कार्यकालको प्रावधान नहटाएको भए ओली र पोखरेल दौडबाट बाहिरिने थिए । ओलीले तेस्रो कार्यकालका लागि अध्यक्ष हुने चाहना राखेपछि उक्त प्रावधान हटाइएको थियो । विधान महाधिवेशनले १९ सदस्यीय पदाधिकारी घटाएर १५ बनाएको छ । राष्ट्रिय महाधिवेशनले अध्यक्ष, ३ उपाध्यक्ष, महासचिव, ३ उपमहासचिव, ७ सचिवसमेत २ सय ५१ सदस्यीय केन्द्रीय कमिटीको निर्वाचन गर्ने र प्रदेश कमिटीका अध्यक्षहरू पदेन सदस्य रहनेछन् ।

ओलीविरुद्ध प्रतिस्पर्धा गर्ने घोषणा गरेका पोखरेलले विगतमा संस्थापन पक्षमा रहेर निर्वाचनमा निर्णायक भूमिका खेलेका थिए । फागुन २०६५ मा भएको आठौं महाधिवेशनमा अध्यक्षका लागि ओली र झलनाथ खनालबीच प्रतिस्पर्धा भएको थियो । त्यसबेला खनालसित ओली पराजित भएका थिए । महासचिवमा ईश्वर पोखरेल चयन भएका थिए ।

असार २०७१ मा काठमाडौंमा भएको नवौं महाधिवेशनमा ओली र माधवकुमार नेपालबीच प्रतिस्पर्धा हुँदा ओली अध्यक्षमा चयन भएका थिए । महासचिवमा पोखरेल नै चयन भए । त्यस्तै मंसिर २०७८ मा भएको १० औं महाधिवेशनमा ओली र भीम रावलबीच प्रतिस्पर्धा भएको थियो । त्यतिबेला दोस्रो कार्यकालका लागि ओली निर्वाचित भएका थिए । वरिष्ठ उपाध्यक्षमा पोखरेल र महासचिवमा शंकर पोखरेल निर्वाचित भएका थिए । पोखरेलले आठौं महाधिवेशनमा खनाललाई र नवौं महाधिवेशनमा ओलीलाई जिताउन भूमिका खेलेका थिए । दसौं महाधिवेशनमा उनी ओलीको आग्रहमा सर्वसम्मत वरिष्ठ उपाध्यक्ष भएका थिए ।

यसैबीच, पोखरेल पक्षले धनकुटा, दाङ, ओखलढुंगालगायत जिल्लामा प्रतिनिधि चयन निष्पक्ष नभएको भन्दै आपत्ति जनाएको छ । पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, सचिव योगेश भट्टराईले बिहीबार अध्यक्ष ओलीलाई भेटेर आपत्ति जनाएका हुन् । ‘प्रतिनिधि चयनमा विधि बाहिर आफूखुसी निर्णय गर्ने, चुनाव भएको क्षेत्रमा परिणाम रद्द गर्ने कुराको आपत्ति जनाएका छौं,’ उपाध्यक्ष पाण्डेले भने । उनले १५ जिल्लामा महाधिवेशन प्रतिनिधि चयनमा गडबडी भएको गुनासो आफूहरूलाई आएको बताए । कान्तिपुर

समाचार वर्गहरू