काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालिन गृहमन्त्री तथा नेपाली काँग्रेसका नेता रमेश लेखकलाई उनीहरुको निवासबाटै पक्राउ गरिएको छ ।
अध्यक्ष ओलीलाई पक्राउ गर्न प्रहरीले मध्यरातिदेखि नै एसएसपी सन्तोष खड्काको नेतृत्वमा ठूलो संख्यामा टोली परिचालन गरिएको थियो ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी खड्काको टोली भक्तपुर प्रहरीका विभिन्न युनिटसहित ओली निवास गुण्डु पुगेका थिए । टोली पुग्दा ओली सुतिसकेका थिए । त्यसैले उनको निवास वरपर प्रहरीले तैनाथ गरेर बसेको थियो र बिहान उठ्नेबित्तिकै नियन्त्रणमा लिइएको थियो ।
उनलाई पक्राउ गरी महाराजगन्जस्थित प्रहरी प्रतिष्ठानमा लगिने र थप कानूनी प्रक्रिया आइतबार पूरा गरिने प्रहरीस्रोतले जनाएको छ । ओली आफ्नै गाडीमा प्रहरीसँग गएका छन् ।
प्रहरी आइजीपीको नक्सालस्थित निवासमा गृहमन्त्री सुधन गुरुङसहित मध्यरातसम्म भएको छलफलपछि गृह मन्त्रालयले राति नै ओलीलाई पक्राउ गर्न लिखित आदेश दिएको थियो ।
आदेशानुसार प्रहरी परिचालित भएको हो । यसैबीच, नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रहरीले पक्राउ गरेको छ । भक्तपुर, कटुन्जेस्थित घरमा सुतिरहेका उनलाई प्रहरीले नै उठाएर साथमा लगेको हो ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई काठमाडौँतर्फ लगेको भक्तपुर प्रहरीस्रोतले जनाएको छ ।
यसैबीच, नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्य परीक्षण गर्न त्रिवि शिक्षण अस्पताल लगिएको छ । आज बिहान गुण्डुस्थित निवासबाट पक्राउ गरेको प्रहरीले केहीबेर प्रहरी परिसर भद्रकालीमा राखेर स्वास्थ्य परीक्षण गर्न लगेको हो ।
अध्यक्ष केपी शर्मा ओली पक्राउ परेको घटनाबारे छलफल गर्न नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । आज बिहान साढे ८ बजे पार्टी कार्यालय च्यासलमा सचिवालय बैठक बोलाएको हो ।
सचिवालय बैठकपछि केन्द्रीय सदस्य र जिल्ला अध्यक्षहरुसँगको बैठक बस्ने छ । ती बैठकले विरोधका कार्यक्रम र स्वरुप तय गर्ने सचिव बस्नेतको भनाइ छ । एमाले सचिव महेश बस्नेतले सचिवालय बैठकपछि विरोधको कार्यक्रमको विस्तृत जानकारी दिइने बताएका छन् ।