‘प्रचण्डले प्रधानमन्त्री बनिदिन कांग्रेसलाई हप्ता हप्तामा खबर पठाउनुहुन्छ’ – गगन थापा

62

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेसलाई सरकारको नेतृत्व आग्रह गरिरहेको बताएका छन्।

बिहीबार कीर्तिपुरको उपनिर्वाचनमा चुनावी सभालाई सम्बोधन गर्दै उनले माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री बनिदिन हप्ता हप्तामा आग्रह गर्ने गरेको बताएका हुन्।

‘हामी अहिले एमालेसँगको यो सरकारलाई तीन वर्ष लिएर जान चाहन्छौँ। परिणाम दिन चाहन्छौँ। अहिले पनि प्रचण्ड हप्तामा एकपटक प्रधानमन्त्री बनिदिन प्रचण्डले खबर पठाउनुहुन्छ,’ थापाले भने।

थापाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हतियार उठाउन लगाएर नेपालको दस वर्ष खेर गएको बताए। ‘प्रचण्डजीले काम न काजको हतियार उठाउँदा नेपालको दस वर्ष खेर गयो। युवालाई रोजगारी दिनुपर्ने ठाउँमा बन्दुक बोक्न लगाएर, एके ४७ भारतबाट किन्ने कि चीनबाट किन्ने कि अमेरिकाबाट बारुद्ध ल्याउनेतिर लाग्यौं,’ महामन्त्री थापाले भने, ‘संक्रमणकालको नाममा अर्को दस वर्ष खेर गयो। तर, फेरि एकपटक मौका आएको छ। केटाहरू कतारमा काम गर्न गएका छन्। बहिनीहरू इजरायल काम गर्न गएका छन्। उनीहरू भनेरमात्रै फिर्ता आउँदैनन्। कतारभन्दा धेरै तलब यहाँ पाउने अवस्था बनाएरमात्रै आउँछन्। त्यो काम कांग्रेसले मात्र गर्न सक्छ।’

उनले कीर्तिपुरलाई सांस्कृतिक सहर बनाएर ललितपुर र भक्तपुरलाई जोड्न सकिने बताए। उनले स्थानीय सरकारले शिक्षा र स्वास्थ्यमा व्यापक काम गर्नुपर्ने आवश्यकता रहेको औंल्याए।

समाचार वर्गहरू