प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले संसद् सचिवालयमा पदभार ग्रहण

7

काठमाडौं । फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचितमध्ये ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपति रामचन्द्र पौडेलसँग पद तथा गोपनीयताको शपथ लिइएका छन् । अब प्रतिनिधिसभाको बैठकले नयाँ सभामुख चयन नगरेसम्म उनले उक्त जिम्मेवारी सम्हाल्नेछन् । संसद सचिवालयका अनुसार शपथलगत्तै उनले सभामुखको हैसियतमा पाउने न्यूनतम सेवा, सुविधा पाएका छन् ।

त्यसअन्तर्गत एउटा गाडी र नेपाल प्रहरीको तर्फबाट एकजना निजी सुरक्षा अधिकारी (पीएसओ) पाएका हुन् । सभामुखका लागि बालुवाटारमा सरकारी निवासको व्यवस्था छ । तर, उनका लागि त्यहाँ बस्ने व्यवस्था नमिलाइएको सचिवालयका एक अधिकारीले नेपाल प्रेसलाई बताए । केसीले सभामुखको शपथ लिएलगत्तैबाट नेपाल प्रहरीले उनको सुरक्षार्थ नायव निरीक्षक (सई) राम राउतलाई खटाएको छ ।

उनी प्रहरी प्रधान कार्यालयस्थित सुरक्षा सेवा निर्देशनालयबाट खटिएका हुन् । अर्को सभामुख निर्वाचित भएपछि पनि सोही जिम्मेवारीमा रहने गरी राउतलाई खटाइएको प्रहरी स्रोतले जनाएको छ । यद्यपि, सभामुख महिला भएमा महिला अधिकृत नै खटाइने स्रोतको भनाइ छ ।

शपथको तयारी पूरा, पहिलो बैठक अनिश्चित

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीले सभामुखका रूपमा शपथ लिएपछि बिहीबार उनैबाट सभाका अन्य सदस्यले शपथ लिने कार्यक्रम तय भएको संसद सचिवालयले जनाएको छ । निर्वाचन आयोगले दिएको सूचीका आधारमा नवनिर्वाचित सांसदहरूलाई मध्याह्न १:३० को समयमा उपस्थितिका लागि सूचना जारी गरिएको छ ।

मातृभाषासहित अन्य भाषामा शपथ लिन चाहने सांसदका लागि ती-ती भाषाको शपथको व्यहोरा तयार भइसकेको सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले बताए । शपथपछि संक्षिप्त जलपान समारोह हुन्छ र बिहीबारको कार्यक्रम सम्पन्न हुने भएको छ । तर, प्रतिनिधिसभाको पहिलो बैठक अहिलेसम्म निश्चित भएको छैन ।

बैठक बस्नका लागि मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट आह्वान हुनुपर्छ । बहालवाला मन्त्रिपरिषद्ले सिफारिस नगरेका कारण नयाँ बन्ने मन्त्रिपरिषद्को सिफारिस बमोजिम प्रतिनिधिसभा सदस्यको बैठक आह्वान हुने सचिवालय स्रोतले बताएको छ ।

बिहीबार नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको शपथपछि राष्ट्रपतिको कार्यालयले नेपालको संविधानको धारा ७६ को उपधारा १ बमोजिम नयाँ सरकार गठनका निम्ति आह्वान हुने सम्भावना छ । उक्त आह्वानअनुसार एक दलको बहुमतको सरकार गठन हुन्छ । उक्त सरकारका प्रधानमन्त्री र मन्त्रीको शपथ समारोहको व्यवस्थापन राष्ट्रपति कार्यालयले नै गर्ने हो ।

शपथपछि बहाल हुने मन्त्रिपरिषद्ले आवश्यक ठानेमा पहिलो वा दोस्रो बैठकबाट प्रतिनिधिसभाको बैठकको मिति राष्ट्रपतिसमक्ष सिफारिस गर्नेछ । त्यसअनुसार राष्ट्रपतिले बैठकको आह्वान गर्ने संवैधानिक व्यवस्था छ ।

संविधानको धारा ९३ ले राष्ट्रपतिले प्रतिनिधि सभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र संघीय संसदको अधिवेशन आह्वान गर्नुपर्ने व्यवस्था गरेको छ । मन्त्रिपरिषद्ले संविधानको सोही व्यवस्थाको सीमाभित्र रहेर सिफारिस गर्ने प्रचलन छ ।

सभामुख चयनको प्रक्रिया

संविधानको धारा ९१ अनुसार प्रतिनिधिसभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गर्नुपर्ने व्यवस्था गरेको छ । बिहीबार नवनिर्वाचित सदस्यहरुको शपथ ग्रहण समारोहमात्रै हो, पहिलो बैठक होइन ।

यद्यपि, राष्ट्रपतिसमक्ष निर्वाचन निर्वाचन परिणाम पेश गरेको मितिले ३० दिनभित्र संघीय संसदको बैठक बस्नुपर्ने संवैधानिक व्यवस्था अनुसार अब २३ दिनभित्र बैठक आह्वान गरिसक्नुपर्नेछ । निर्वाचन आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन परिणामको प्रतिवेदन चैत ५ गते पेश गरेको थियो । त्यसअनुसार वैशाख ५ गतेभित्र संघीय संसदको बैठक बसिसक्नुपर्छ ।

उक्त बैठक बसेको १५ दिनभित्र प्रतिनिधिसभाको बैठकमा सभामुख र उपसभामुखको निर्वाचन गर्नुपर्ने व्यवस्था छ । त्यसका लागि पहिलो बैठकले नै निर्वाचनको तालिका पारित गर्नसक्छ । सभामुख र उपसभामुखको निर्वाचन सम्पन्न भएर ती पदाधिकारी निर्वाचित भएको घोषणा हुनुअघिसम्म ज्येष्ठ सदस्यले सभामुखका सम्पूर्ण भूमिका निर्वाह गर्नुपर्ने व्यवस्था छ ।

त्यसपछि विश्वासको मत

संविधानको धारा ७६ को उपधारा २ ले प्रधानमन्त्री नियुक्त भएको व्यक्तिले नियुक्त मितिको एक महिनाभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्था गरेको छ । त्यसैले सभामुख र उपसभामुख निर्वाचनलगत्तै विश्वासको मत लिने कार्यसूची आउने संसद सचिवालयस्रोतले जनाएको छ ।

समाचार वर्गहरू