भरतपुर – प्रदेश नं ३ मा नेपाल भ्रमण वर्ष २०२० लाई चितवनको सौराहाबाट शुभारम्भ गरिने भएको छ । चितवनमा पुस १० (२६ डिसेम्बर) देखि शुरु हुने १८ औँ संस्करणको हात्ती महोत्सवको समयावधि थप गरेर भ्रमण वर्षको शुभारम्भमा गर्न लागिएको हो । यस वर्ष चार दिन हात्ती महोत्सवको समय थप गरेर भ्रमण वर्षको शुभारम्भ गर्न लागिएको क्षेत्रीय होटल संघ चितवन सौराहाका अध्यक्ष दीपक भट्टराईले जानकारी दिए ।
जनवरी ३ तारिखमा सौराहामा एक विशेष कार्यक्रमको आयोजना गरी प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलबाट भ्रमण वर्षको शुभारम्भ गरिने छ । हात्ती महोत्सवको समायवधि बढेपछि कार्यक्रमहरु पनि थप गरिएको भट्टराईले जानकारी दिए । यसअघिका वर्षमा हटाइएका टाँगा दौड, गाडा दौड, डुङ्गा दौड भ्रमण वर्षलाई लक्षित गरेर पुनः समावेश गरिएको छ ।
प्रदेश नं ३ का मुख्यमन्त्री पौडेलले विशेष चासो राखेपछि हात्ती महोत्सवको समय थप गर्न सौराहाका व्यवसायी तयार भएका हुन् । मुख्यमन्त्री पौडेलले सौराहाका व्यवसायीसँग छलफल गरेर चितवनबाटै प्रदेशको भ्रमण वर्ष शुभारम्भ गर्न आग्रह गरेका थिए । उनले चितवनको सौराहालाई उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउन प्रदेश सरकारले विशेष कार्यक्रमको आयोजना गर्ने बताए ।
भ्रमण वर्ष लक्षित गरेर सौराहामा रात्रिकालीन जिप सफारी, फुड फेस्टिबल लगायतका अन्य नयाँ कार्यक्रम पनि आयोजना गरिने छ । चितवनमा भ्रमण वर्ष २०२० मा चार लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ ।
रासस