प्रदेश प्रमुख परिवर्तन स्वभाविक हो : नेकपा अध्यक्ष दाहाल

19

(नेपालगन्ज) – नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले प्रदेश प्रमुखको परिवर्तन स्वभाविक भएको बताएका छन् । बाँकेको नेपालगञ्ज विमानस्थलमा पत्रकारसँग कुरा गर्दै नेकपा अध्यक्ष दाहालले प्रदेश प्रमुख सरकारका प्रतिनिधि भएकाले सरकार परिवर्तन हुँदा प्रदेश प्रमुख फेरिनु सामान्य भएको बताएका छन् ।

उनले भने, ‘सरकारको प्रतिनिधिको रुपमा नै प्रदेश प्रमुखले काम गर्ने हो । सरकार परिर्वतन भएपछि प्रदेश प्रमुख पनि फेरिने नै प्रचलन हो । कतिपय देशमा त सरकार फेरिने बितिकै प्रदेश प्रमुखले राजीनामा दिएर सरकारलाई काम गर्न सजिलो पार्ने प्रचलन पनि छ । त्यसैले यो स्वभाविक कुरा हो ।’

तीन वर्ष कार्यकाल बाँकी रहँदै प्रदेश प्रमुखहरु हटाएको भनेर सरकारको आलोचना गरिरहेका बेला अध्यक्ष दाहालले भने नेकपा नेतृत्वको सरकार उदार भएकाले अघिल्लो सरकारको पालामा नियुक्त भएका प्रदेश प्रमुखहरुलाई दुई वर्षसम्म काम गर्न दिएको बताए ।

पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष दाहालले भने, ‘तर, हाम्रो सरकार अलि उदार भएको हुनाले, अलि धेरै नै लचिलो र जिम्मेवार भएको हुनाले दुई वर्षसम्म उहाँहरुलाई काम गर्न दियो । र, अहिले सरकारले अब फेर्न उचित हुन्छ भन्ठान्यो ।’

प्रदेश प्रमुखहरुले सरकारको प्रतिनिधिको रुपमा काम गर्ने भएकाले उनीहरुलाई हटाउने र नियुक्त गर्ने कुरा सरकारको क्षेत्राधिकारभित्रै पर्ने अध्यक्ष दाहालले बताए । उनले भने, ‘यो सरकारको क्षेत्राधिकारभित्रको कुरा हो, गर्यो । यसलाई ठूलो ठान्नुपर्ने, के–के न हो भनेर ठान्नुपर्ने विषय होइन ।’

प्रदेश प्रमुख नियुक्तिलाई लिएर वरिष्ठ नेता माधवकुमार नेपालले जनाएको असन्तुष्टी जायज रहेको उनले टिप्पणी गरेका छन् । पार्टीभित्र छलफल हुुनु स्वभाविक रहेको भन्दै चित नबुझे नोटअफडिसेन्ट लेख्न सकिने उनको भनाई छ ।

नेता नेपालले प्रदेश प्रमुखमा आफ्ना निकटलाई नियुक्ति नगरिएको भन्दै चित्त दुखाएका छन् । अध्यक्ष दाहालले सहमतिमै प्रदेश प्रमुख नियुक्ति गरिएको जानकारी दिए । उनले पार्टी भित्र त्यस बारे छलफल गरी निर्णय लिएको बताए ।

समाचार वर्गहरू