फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन रोक्न माग राख्दै सर्वोच्चमा रिट पेश

7

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि माघ ६ गते हुन लागेको प्रत्यक्षतर्फको मनोनयन पत्र रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट पेस भएको छ । अधिवक्ता कीर्तीनाथ शर्मा पौडेलले राष्ट्रपति कार्यालय र प्रधानमन्त्री कार्यालयलाई विपक्षी बनाएर मंगलबार रिट पेस गरेका हुन् ।उनले निर्वाचन तालिका सम्बन्धी सम्पूर्ण कार्यक्रम तत्काल स्थगितको माग गरेका छन् । उनले रिटमा निर्वाचन प्रणालीतर्फ आगामी माघ ६ गते बिहान १० देखि बेलुका ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्तादेखि निर्वाचन प्रक्रियाको सबै काम स्थगित गराउन माग गरेका छन् ।

शर्माका अनुसार निर्वाचन कार्यक्रम स्थगित रिटको पेसी आउँदो माघ ६ गतेका लागि तोकिएको छ । प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै यसअघि दायर भएको रिटलाई प्रभावित बनाउने गरी निर्वाचन कार्यतालिका सार्वजनिक भएकोले रिट दायर गरेको अधिवक्ता शर्माले जानकारी दिए । निर्वाचन आयोगको कार्यतालिका अनुसार आयोगका अनुसार मनोनयनपत्र दर्ता भएका उम्मेदवारको विरोधमा उजुरी दिने अवधि माघ ७ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ भने सोही दिनको दिउँसो ३ बजेदेखि माघ ८ गते बेलुका ५ बजेसम्म मनोनयनपत्र र उजुरीउपर जाँचबुझ तथा निर्णय गरी माघ ८ गते बेलुका ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिनेछ ।

माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सकिनेछ भने सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ ।

समाचार वर्गहरू