यो सरकार गरिबी हटाउन होइन गरिब मास्न लागेको छ : गगन थापा

56

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले ल्याएको बजेटले न्यून आय भएका र विपन्न वर्गका समस्या सम्बोधन गर्न नसकेको टिप्पणी गरेका छन् । शनिबार नेपाल थारु संघको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै सभापति थापाले बजेटमा आंशिक संरचनात्मक सुधारका विषयवस्तु समेटिए पनि गरिबको भावना भने नसमेटेको टिप्पणी गरेका हुन् ।

‘यो सरकारले एउटा कुराको मेसो पाउन सकिरहेको छैन । गरिबी र गरिब दुइटा फरक कुरा हुन्,’ उनले भने, ‘गरिबी भनेको अवस्था हो, गरिबी भनेको अभावको अवस्था हो यो संरचनागत समस्या हो । यहाँ अभाव हुन्छ असमानताको कारणले गर्दा गरिबी यहाँ आउँछ विभेदको कारणले गर्दा गरिबी आउँछ ऐतिहासिक कारणले गर्दा गरिबी आउँछ गरिबी अवस्था हो ।

तर गरिब भनेको को रु गरिब भनेको हाड छाला मासु भएको मान्छे हो ।’ सरकार गरिब नै मास्न लागेको उनले टिप्पणी गरे । ‘यो सरकारले के गर्नुपर्ने हो भने गरिबी हटाउँछु भन्नुपर्ने ठाउँमा यो गरिबी हटाउनेतिर लागेको छैन यो गरिब मास्न तिर लागेको छ । गरिबी हटाउने होइन गरिब मास्ने कुराले सोचले कहिल्यै पनि गरिबी सकिँदैन,’ सभापति थापाले भने ।

भूमिहीन र सुकुमवासीको सन्दर्भमा गरेको व्यवहारलाई कतिवटा टहरा भत्क्यो भनेर हेर्दा सरकारको नियत नदेखिने उनले बताए । उनले अगाडि भने, ‘त्यसलाई कसरी हेर्नुपर्छ भने यो राज्यको नियत के देखिन्छ प्रवृत्ति के देखिन्छ भने म गरिबी हटाउँछु होइन म गरिबलाई हटाइदिन्छु ।

मेरो अगाडि जो गरिब पर्छ त्यसलाई मास्दिन्छु म हटाइदिन्छु भनेपछि गरिबी हट्छ भन्ने गलत सोचबाट यो ग्रसित छ । हिजोको बजेटमा पनि हामीले यो कुरा देख्यौँ ।’ आर्थिक मन्दीमा महँगीले न्यून आय भएका नागरिकलाई भान्सा चलाउन, बालबच्चा पढाउन, उपचार गर्न गाह्रो भइरहेका बेला सरकारको बजेटमार्फत तय गरेका करका दरले त्यो वर्गप्रति निकै आहात पारेको उनले बताए ।

‘तल्लो आय भएको सबै तह र तप्का त्यो वर्गप्रति उसको ठूलो उदासीनता छ । माथिल्लो तह माथिल्ला आम्दानी भएका मानिसहरूको सन्दर्भमा कतिपय कयौँ कुराहरू सकारात्मक छ ,’ उनले बजेटबारे भने ।

समाचार वर्गहरू