बलात्कार प्रयासको आरोपमा निवर्तमान सभामुख महरा पक्राउ

10

काठमाडौं – यौन दुर्व्यवहारको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त बानेश्वरको टोलीले निवर्तमान सभामुख महरालाई सभामुख निवास बालुवाटारबाट नियन्त्रणमा लिएको हो ।
महराकै मागअनुसार प्रहरीले उनलाई निजी कारमा राखेर लगेको छ ।

रातो रंगको गाडीमा गएका उनीसँगै सादा पोसकका प्रहरीहरु खटिएका थिए । प्रहरी स्रोतका अनुसार महरालाई सिंहदरबार वृत्तको नियन्त्रण कक्षमा राखिने छ । यसअघि आइतबार बिहान जिल्ला अदालत काठमाडौंका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले महरालाई पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिएको थियो ।

लगतै सभामुख निवासमा प्रहरी पुगेको थियो । सुरुमा सादा पोसाकमा प्रहरी पुगेको थियो तर पक्राउ गर्ने तयारीसँगै सभामुख निवास वरपर ठूलो संख्यामा सुरक्षाकर्मी खटाइएको थियो ।

प्रहरीले नियन्त्रणमा लिएर बयान लिनका लागि सरकारी वकिलसँग सल्लाह गरिरहेको स्रोतले जानकारी दिएको छ । संसद् सचिवालयमा कार्यरत स्वास्थ्यकर्मी (कर्मचारी) रोशनी शाहीले शनिबार महानगरीय प्रहरी वृत्त बानेश्वरमा आफूमाथि महराले बलात्कार प्रयास गरेको भन्दै किटानी जाहेरी दिएपछि महरालाई पक्राउ गरेर अनुसन्धान अघि बढाउन प्रहरीलाई बाटो खुलेको थियो ।

प्रहरीले गत शुक्रबार नै पीडित महिलाको स्वास्थ्य परीक्षण गराइसकेको छ भने उनको कोठाबाट प्राप्त प्रमाणहरुको पनि फोरेन्सिक जाँच गरिसकेको छ । दुवैको रिपोर्ट आएनआएको बारे भने कुनै जानकारी दिइएको छैन । रोशनीले स्वास्थ्य परिक्षण गराउन राजी भएसँगै किटानी जाहेरी दिन पनि राजी भएको प्रहरी स्रोतले बताएको छ ।

समाचार वर्गहरू