बालुवाटारमा प्रधानमन्त्री र आन्दोलनरत शिक्षकबीच वार्ता

190

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र आन्दोलनरत शिक्षकहरुबीच वार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार राति वार्ता भएको हो।

वार्तामा जारी शिक्षक आन्दोलन र समस्या समाधानका विकल्पका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, सहअध्यक्ष नानुमाया पराजुली, महासचिव तुलाबहादुर थापा र उपमहाचिव मदनराज जोशी सहभागी थिए ।

यद्यपि बैठकमा भएका भएका थप विषय प्राप्त भइसकेको छैन।  विद्यालय शिक्षा विधेयक, २०८१ छिटो पारित हुनुुपर्ने लगायत माग राखेर महासङ्घको आव्हानमा यही चैत २० गतेदेखि शिक्षकहरुले काठमाडौँकेन्द्रित आन्दोलन जारी राखेका छन् ।

प्रधानमन्त्री ओलीले आन्दोलनमा उठाइएका जायज मागका सम्बन्धमा गृहकार्य गरी वार्ता र संवादबाट समस्याको समाधान गर्न गत चैत २५ गते उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईसहितलाई निर्देशन दिएका थिए ।

मन्त्रिपरिषद्को यही वैशाख २ गतेको बैठकले संघीय संसदमा विचचाराधीन रहेको विद्यालय शिक्षा विधेयक यथासक्य पारित गर्ने समेतका प्रयोजनका लागि संघीय संसदको अधिवेशन आह्वान गरी सरकारको तर्फबाट सो विधेयक पारित गर्न आवश्यक समन्वय र सहजीकरण गर्ने र यसका लागि वैशाख १२ गते शुक्रबार दिउँसो १ बजे संघीय संसद बैठकको आह्वान गर्ने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद्को सोही बैठकले महासंघले उठाएका मागहरुको यथोचित सम्बोधन गर्ने सम्बन्धमा संवाद निरन्तर रहेको र अझै संवाद गर्न सरकार संवेदनशील र गम्भीर रहेकाले विद्यालय भर्ना अभियान, एसइइको उत्तरपुस्तिका परीक्षण र कक्षा १२ को परीक्षालाई ध्यान दिइ आन्दोलन फिर्ता गरी विद्यालय फर्कन शिक्षकहरुलाई आव्हान गरेको थियो ।

शिक्षकहरुले भने विद्यालय शिक्षा ऐन जारी नभएसम्म आन्दोलन जारीराख्ने बताउँदै आज १७ औं दिनको आन्दोलन पनि जारी राखेका थिए ।

समाचार वर्गहरू