बीपी राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा बन्द : वैकल्पिक मार्ग प्रयोग गर्न प्रशासनको आग्रह

9

काठमाडौं । वर्षाका कारण बीपी राजमार्गका विभिन्न सडकखण्डमा क्षति पुगेको छ। जसका कारण सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ।

‘प्रतिकूल मौसमको कारण काभ्रेपलाञ्चोक जिल्लाको विभिन्न स्थानहरूमा गएरातिको भारी वर्षाले बीपी राजमार्गको विभिन्न सडकखण्डमा क्षति पुगेकोले सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको छ’, कार्यालयद्वारा आज बिहान जारी गरेको सूचनामा भनिएको छ।

प्रहरीले उक्त राजमार्ग हुँदै यात्रा नगर्न आग्रह गर्दै यात्रुहरूलाई वैकल्पिक बाटो प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ। सोमबार बनाइएका डाइभर्सन मंगलबार राति रोशी खोलामा आएको बाढीले बगाएपछि बीपी राजमार्ग पुनस् अवरुद्ध भएको हो ।

इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीले रोशी खोलाले चौकीडाँडा, घुमाउने, नार्के, चिउरीबास, कालढुंगा, डालाबेशी, बुलढुंगा तथा माम्तीमा डाइभर्सन बगाएको जानकारी दिए । बीपी राजमार्गका विभिन्न स्थानमा डाइभर्सन बगाएका कारण काभ्रेको मङ्गलटार, भकुण्डे, काभ्रेभञ्ज्याङ र धुलीखेल तथा सिन्धुलीको नेपालथोक र खुर्कोटमा सवारी साधन होल्ड अवस्थामा राखिएको छ ।

धुलिखेलका रोकिएका गाडीलाई चरिकोट हुँदै पठाइसकिएको प्रहरीले जनाएको छ । मङ्गलटारमा होल्ड भएका ४ वटा ईभी गाडीका १६ जना यात्रुलाई तेमालको सडक हुँदै धुलिखेलतर्फ पठाउने तयारी छ । बीपी राजमार्ग हुँदै यात्रा गर्ने योजना बनाएका यात्रुहरुलाई वैकल्पिक बाटो प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ । सडकबारे जानकारी लिनुपरेमा नेपाल प्रहरीको १०० वा ट्राफिक प्रहरीको १०३ नम्बमा सम्पर्क गर्न पनि भनिएको छ ।

समाचार वर्गहरू