मंसिर १४ गते भित्र बैंकलाई कोषमा सूचीकृत हुन सरकारको आग्रह

12

(काठमाडौं) – आगामी मंसिर १४ गते भित्र सबै बैंक तथा बैंकमा कार्यरत कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा सूचीकृत हुन सरकाले आग्रह गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट र नेपाल बैंकर संघका पदाधिकारी बीच आज मन्त्रालयमा भएको छलफलका क्रममा मन्त्री विष्टले यस्तो आग्रह गरेका हुन् ।

ठूलो संख्यामा रोजगारदाता तथा योगदानकर्ता कोषमा सूचीकरण हुन बाँकी रहेको भन्दै सरकारले कोषमा सूचीकरण हुनका लागि एक महिनाको समयावधि थप गरेको हो । मन्त्रालयले यसअघि असोज मसान्तभित्र निजी क्षेत्रका सबै उद्योग–प्रतिष्ठानलाई सामाजिक सुरक्षा कोषमा आवद्ध हुन भनेको थियो ।

कोषले यही कार्तिक १४ गते सार्वजनिक सूचना प्रकाशन गरी एक महिना भित्र सो योजनामा आवद्ध हुन सबै रोजगारदाता तथा योगदानकर्तालाई आग्रह गरेको हो । छलफलका क्रममा मन्त्री विष्टले संविधानले गरेको व्यवस्था र सरकारले संसदबाट पारित गरेको कार्यक्रममा बैंक तथा वित्तीय क्षेत्र समयसीमा भित्रै सहभागी हुने अपेक्षा गरेको बताए । सामाजिक सुरक्षा कोष नेपालमा नौलो कार्यक्रम भएकाले बुझाइमा अस्पष्टता भएको हुन सक्ने भन्दै उनले आम श्रमिकको जीवनलाई सुरक्षा दिने ऐतिहासिक कार्यक्रम भएको बताए ।

कोषका सन्दर्भमा देखिएका अस्पष्टता हटाउन तथा विभिन्न क्षेत्रबाट आएका गुनासाहरुलाई सम्बोधन गर्न सरकार तयार रहेको समेत उनले बताए । विभिन्न क्षेत्रबाट आएका गुनासालाई सम्बोधन गर्दै कार्यक्रमलाई परिमार्जित, समय सान्दर्भिक तथा वैज्ञानिक बनाउँदै लगिने उनले आश्वासन दिए ।

मन्त्रालयमा भएको छलफलका क्रममा बैंकर संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगाना सहितको पदाधिकारीले समयमै सामाजिक सुरक्षा कोषमा सहभागी हुने प्रतिवद्धता जनाएका छन् ।

समाचार वर्गहरू