भदौ २३ गतेदेखि सहुलियत पसल

21

काठमाडौं – सरकारले चाडपर्व लक्षित गरी सहुलियत पसल सञ्चालन गर्ने भएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवसहित मंगलबार बसेको बैठकले भदौ २३ गतेदेखि सहुलियत पसल सुरु गर्ने निर्णय गरेको हो ।
अघिल्लो वर्ष असोज १२ गतेदेखि सहुलियत पसल सञ्चालन भएको थियो ।

सहुलियत पसलमा बजारमा प्रचलित मूल्यभन्दा प्रतिकिलो २ देखि ५० रुपैयाँसम्म छुट दिइने मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार साल्ट ट्रेडिङ कर्पोरेसन्स लिमिटेड, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, दुग्ध विकास संस्थान सहित निजी व्यवसायीले पनि छुट दिनेछन् ।

नुनमा बजार भाउ भन्दा दुई रुपैयाँ छुट दिइनेछ । चामल मोटामा प्रतिकिलो ५ रुपैयाँ, चामल मसिनोमा प्रतिकिलो १० रुपैयाँ, गेडागुडीमा प्रतिकिलो १० रुपैयाँ, चिनीमा प्रतिकिलो ५ रुपैयाँ छुटको व्यवस्था गरिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बिक्री गर्ने खसीबोका र च्यांग्रामा किलोको १० रुपैयाँ छुट दिने जनाएको छ । चाडबाडको मुखमा व्यवसायीले मनोमानी मूल्य लिँदै आएका छन् । त्यसलाई हस्तक्षेप गर्न पनि छुट दिन लागेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले सहुलियत पसल सञ्चालन गर्न मिति तय गरे पनि कति स्थानमा सञ्चालन गर्नेमा भने निर्णयमा पुगेको छैन । निजी व्यवसायीसँग पनि छलफल गरेर टुंगोमा पुग्ने वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले बताए ।

साल्ट ट्रेडिङले पनि उपत्यकामा ९ स्थान, उपत्यका बाहिर २४ स्थानमा पसल सञ्चालन गर्नेछ । तीनवटा घुम्ती मोबाइल सेवा पनि सञ्चालन गरिनेछ । विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी, स्थानीय निकाय र चेम्बरहरूले पनि पसल सञ्चालन गर्ने जनाएको छ ।

सहुलियत पसलमा साल्ट ट्रेडिङले नुन, चिनी, गेडागुडी लगायत बिक्री गर्नेछ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चामल, दाल, गेडागुडी, फापरको पिठो र खसीबोका उपलब्ध गराउने छ । चाडपर्वका बेला व्यापारीले उपभोक्तालाई ठग्ने गरेको भन्दै सरकार आफैले बजार हस्तक्षेप गरी वर्षेनी सहुलियत पसल सञ्चालन गर्दै आएको छ ।

समाचार वर्गहरू