भन्सार कर्मचारी र व्यवसायीको साँठगाँठमा ल्याएको विद्युतिय गाडी प्रहरीको नियन्त्रणमा

7

काठमाडौँ । भन्सार कर्मचारी र व्यवसायीको अबैध साँठगाँठमा नक्कली कागजात बनाई चीनबाट नेपाल भित्राईएको विद्युतिय गाडी प्रहरीले नियन्त्रणमा लिएको छ । नेपाल–चीन सीमा नाका कोरला हुँदै भित्रिएका ७५० वटा विद्युतीय सवारीसाधन सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।

मुस्ताङदेखि कास्कीसम्मको सडकबाट ती गाडी नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बलले जनाएको छ । बजेट वक्तव्य सार्वजनिक हुनुअघि नै ती गाडी नेपाल भित्रिएका थिए । भन्सार कर्मचारीकै संलग्नतामा ति गाडीहरू विभिन्न जिल्लाको बाटो हुदै पोखरा र काठमाडौं लैजान लागेको सूचना पाएपछि नेपाल प्रहरीसँगको समन्वयमा सशस्त्रले ती गाडी नियन्त्रणमा लिएको बताइएको छ ।

बरामद गाडी नम्बर प्लेट बिनाका रहेका छन् । शङ्का लागेर नियन्त्रणमा लिइएका ती गाडीका कागजात भन्सारसँगको समन्वयमा चेकजाँच गरिने समेत बताइएको छ । पेश गरेका कागजात हेरि जाँच गरिने र त्रुटि नदेखिए फिर्ता गर्ने तर त्रुटि देखिएमा भन्सार कार्यालयबाट कानुन अनुसार कारबाहीकालागि पठाउने समेत बताइएको छ ।

बजेट वक्तव्यमा करको दर हेरफेरको सूचना लिक भएपछि ती गाडी आयात गरिएको थियो । कास्की र पर्वत लगायतका ठाउँमा ती गाडी सशस्त्र प्रहरीले होल्ड गरेर राखेको छ । सशस्त्रका अनुसार बिवाईडी लगायतका विद्युतीय गाडीहरू रहेका छन् । ति गाडीहरुको परीक्षण भन्सारका कर्मचारीले गरिरहेको सशस्त्र प्रहरीले जनाएको छ । म्याग्दीको सिमानासम्म पुगेका गाडी बुधबार राति नियन्त्रणमा लिइएको थियो ।

समाचार वर्गहरू