भारतले सार्वजनिक गरेको नयाँ नक्साप्रति कांग्रेसको आपत्ति

13

(काठमाडौं) – प्रमुख प्रतिपक्षी दल नेपाली कांंग्रेसले भारतले सार्वजनिक गरेको नयाँ राजनीतिक नक्साप्रति आपत्ति जनाएको छ । प्रवक्ता विश्वप्रकाश शर्माले मंगलबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत नेपाली माटोका बारे कहीँबाट पनि उब्जिने प्रश्न आपत्तिजनक र अस्वीकार्य रहेको बताएका छन् ।

फेसबुकमा प्रवक्ता शर्माले लेखेका छन्, ‘दिल्लीबाट जारी नयाँ नक्साप्रति गम्भीर ध्यानाकर्षण भएको छ । कालापानी र लिपुलेक हाम्रा अभिन्न अंग हुन् । नेपाल सरकारले तत्काल धारणा सार्वजनिक गरेर तत्काल गम्भीर पहलकदमी गरोस् । नेपाली माटोका बारे कहीँबाट पनि उब्जिने प्रश्न आपत्तिजनक र अस्वीकार्य छ ।’

प्रवक्ता शर्माले कालापानी र लिपुलेकलाई भारतले आफ्नो नक्सामा समावेश गरेको विषयमा सरकारको धारणा माग गरेको छ । दुबै भूमि नेपालको अभिन्न अंग भएको भन्दै कांग्रेसले यसमा उठाइएको प्रश्न अस्वीकार्य भएको बताएको छ ।
कांग्रेस प्रवक्ता शर्माले माईक्रो ब्लगिङ साइट ट्वीटरमा प्रधानमन्त्रीलाई मेन्सन गर्दै सरकारको धारणा सार्वजनिक गर्न र सरकार गम्भीर पहल गर्न समेत माग गरेका छन् ।

भारतले नेपालको झण्डै ३ सय ७२ वर्ग किलोमिटर भन्दा धेरै जमिन आफ्नो भन्दै नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेको छ । दार्चुला जिल्लाको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रलाई गएको शनिबार भारतले सार्वजनिक गरेको राजनीतिक नक्सामा समेटेको छ ।

यसअघि पनि यो क्षेत्र आफ्नो भन्दै भारतले दाबी गर्दै आएको थियो । जम्मू–कश्मीर औपचारिक रूपमा दुईवटा केन्द्रशासित राज्यमा विभाजित भएसँगै नरेन्द्र मोदी नेतृत्वको सरकारले भारतको नयाँ नक्सा सार्वजनिक गर्ने क्रममा नेपालको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रलाई आफ्नो नक्सामा समावेश गरेको हो ।

भारतले सार्वजनिक गरेको नक्साअनुसार कालापानी क्षेत्रको मात्रै ६२ वर्ग किलोमिटर क्षेत्र परेको छ । यस्तै लिपुलेकबाट आएको नदीदेखि लिम्पियाधुरातर्फबाट आएको नदी क्षेत्रको झण्डै ३१० वर्ग किलोमिटर क्षेत्र मि नक्साभित्र समेटेको छ ।

लामो समयदेखि भारतले अतिक्रमण गरेर राखेको यो क्षेत्र अहिले भारतले औपचारिक रुपमा नै राजनीतिक नक्सामा समेटेको हो । भारत सरकारले ३१ अक्टोबरदेखि अस्तित्वमा आएका दुई भिन्ना भिन्नै केन्द्रशासित प्रदेश (युनियन टेरिटरी) जम्मू–कश्मीर र लद्दाख सहितको देशको औपचारिक राजनीतिक नक्सा गएको शनिबार सार्वजनिक गर्दा नेपालको भूभाग पनि आफ्नो सीमाभित्र मिसाएको छ ।

समाचार वर्गहरू