भाषा एवं संस्कृतिको जर्गेना गर्नुपर्नेमा प्रदेश सांसदको जोड

41

रासस/पोखरा – गण्डकी प्रदेशसभाको आज बुधबारको बैठकमा सदस्यहरुले मौलिक भाषा एवं संस्कृतिको जगेर्ना गर्नुपर्नेमा जोड दिएका छन् । बैठकमा गण्डकी प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको सैद्धान्तिक छलफलमा सदस्यहरुले गण्डकी प्रदेश भाषा, कला एवं संस्कृतिका हरेका पक्षमा सम्पन्न भएको बताउँदै यसको संरक्षण हुनुपर्ने बताए ।

प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले सभामा सैद्धान्तिक छलफलका लागि प्रस्तुत गरेका विधेयक सम्बन्धमा सदस्यहरुले भाषा, कला, संस्कृतिको जगेर्ना गर्दै यसको मौलिकतालाई कायम राख्न विधेयक बहुउपयोगी बन्ने विश्वास व्यक्त गरे ।

प्रदेशसभा सदस्य प्रभा कोइरालाले भाषा संस्कृति हामीहरुको अमूल्य सम्पत्ति भएको उल्लेख गर्दै प्रस्तावित विधेयकले यसको लागि महत्वपूर्ण योगदान गर्ने बताइन् । खोज र अनुसन्धानका लागिसमेत विधेयकले मार्ग प्रसस्त गरेको चर्चा गर्दै उनले यसको सफल कार्यान्वय हुनुपर्नेमा जोड दिइन् ।

अर्की सदस्य सरिता गुरुङले लोपोन्मुख कुसुण्डा जाति तनहुँ र नवलपुर मात्रै रहेका बताउँदै विधेयकले यस्ता जातजाति एवं भाषाभाषीको संरक्षणमा योगदान पुग्ने विश्वास व्यक्त गरिन् । प्रदेशसभाको अर्को बैठक आगामी फागुन ५ गते दिनको १ः०० बजे बस्ने सभामुख नेत्रनाथ अधिकारीले जानकारी दिए ।

समाचार वर्गहरू