भिजिट भिसामा विदेश जान लागेका २७ जना महिलालाई घर फर्काइयो

7

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा विदेश जान लागेका २७ जना महिलालाई फर्काइएको छ । बुधबार मानव बेचबिखन गिरोहले विदेश लैजान लागेको भन्ने सूचना पाएपछि र विमानस्थल सुरक्षा प्रहरी कार्यालयले २७ महिलालाई विदेश जान रोकेको थियो ।

त्यसपछि २७ महिलालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको जिम्मा लगाइएको हो । अहिले ती महिलामाथि सोधपुछ गरेर अनुसन्धान अघि बढाइएको अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले बताए । ‘हामीले सोधपुछका लागि नियन्त्रणका लिएका महिला आफैं पीडित हुन् ।

उनीहरूलाई फकाएर, झुक्याएर कसले विदेश लैजान लागेको हो भन्नेबारे अनुसन्धान गर्दैछौं,’ उनले भने । अहिलेसम्मको प्रारम्भिक अनुसन्धानको क्रममा ओमन जाने भनेर ती महिलाहरूलाई भिजिट भिसामा कुवेत लैजान लागेको पाइएको छ । यसरी लैजाने गिरोहबारे अनुसन्धान सुरु भएको प्रहरीले बताएको छ ।

बुधवार राति फ्लाई दुबईको फरक फरक उडान हुँदै ओमनको राजधानी मस्कटतर्फ जान लागेका १२ र १५ गरी २७ जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले नियन्त्रणमा लिएको हो । २२ देखि २९ वर्ष उमेरसम्मका ती महिला ‘भिजिट भिसा’, अर्थात् पर्यटकका रूपमा विदेश जान लागेको कुरामा शंका भएपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काले आवश्यक अनुसन्धान जारी रहेको बताए । उनीहरुसँग ओमनको भिसा, टिकट र होटल डकुमेण्ट देखिए पनि सोही पासपोर्टमा कुवेतको भिसा पनि भेटिएपछि शंकाका आधारमा विमानस्थल अध्यागमनले निगरानी गरेको थियो । अध्यागमनले शंका गरेपछि प्रहरीले अनुसन्धान गरेको हो ।

त्यसक्रममा महिलाका निम्ति वैदेशिक रोजगारी प्रतिबन्धित मुलुक कुवेतको भिसा देखिँदा उनीहरु अवैध रूपमा त्यसतर्फ जान लागेको निष्कर्ष प्रहरीले निकालेको थियो । फ्लाई दुबईको उडानबाट ओमनको राजधानी मस्कट हुँदै त्यहाँबाट कुवेत जाने रुट तय भएको थियो ।

कुवेत लगिएपछि घरेलु कामदारका रूपमा स्थानीय एजेण्टले नेपाली महिलाको अनुहार हेर्दै छानेर लैजाने र कुनै घरमा कामदारका रूपमा राख्ने प्रचलन छ । त्यसरी राखिएका महिलालाई शारीरिक यातना दिनेदेखि यौनजन्य हिंसा हुनेसम्मका घटना विगतमा भएका छन् । नियन्त्रणमा लिइएका महिलालाई विदेश पठाउने गिरोहको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

समाचार वर्गहरू