काठमाडौं, साझा खवर संवाददाता – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले भूमिहीन, सुकुम्बासी, अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने कानूनलाई अनावश्यक हल्ला गरिएको बताएकी छन् । सामुदायिक आत्मनिर्भर केन्द्रको बाह्रौं वार्षिक सामाजिक लेखाजोखा कार्यक्रमलाई सोमबार काठमाडौंमा सम्बोधन गर्दै मन्त्री अर्यालले त्यस्तो बताएकी हुन् ।
सरकारले लामो समयपछि भूमिहिन, सुकुम्बासी, अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने कानून ल्याएको तर, ती कानूनभित्र रहेका राम्रा पक्षको चर्चै नगरेर एउटा विषयलाई मात्र बढी चर्चा गरिएको उनले बताईन ।
‘हामीले लामो समयपछि भूमिहीन, सुकुम्बासी, अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने कानून ल्याएका छौ’, मन्त्री अर्यालले भनिन्, ‘यसका राम्रा विषय चर्चा नै नगर्ने । तर एउटा विषयलाई अनावश्यक हल्ला गरेर भूमिहिन, सुकुम्बासी, अव्यवस्थित बसोबासीका कुरा ओझेलमा पार्ने षड्यन्त्र त भएको छैन कि ? भन्ने शंका उब्जिएको छ ।’
यो सरकारले बोकेको झण्डा समानताको झण्डा भएको भन्दै उनले भूमिहिनका समस्या समाधान गर्दैन की भनेर शंका नगर्न समेत आग्रह गरिन् ।
हजोका दिनमा विभिन्न कारणले सुकुम्बासी, भूमिहिन, अव्यवस्थित बसोबासीका समस्या समाधान हुन नसकेको भन्दै तर अहिलेको सरकार ती समस्या समाधान गर्न लागेको उनले बताईन । पहिलो नम्बरमा समस्याको समाधान गर्न कानून चाहियो भनेर आफू लागेको उनको भनाइ थियो ।
ऐनमा रहेका कुरा नियमावलीमार्फत एक्सन प्लान बनाएर कार्यान्वयमा जाने बताउँदै मन्त्री अर्यालले सबै सरोकारवालासँग अन्तरक्रिया गरेर कार्यान्वयमा जाने बताईन । सरकारले भूउपयोग ऐन बनाउने महत्वपूर्ण काम सम्पन्न गरेको भन्दै उनले भूमि ऐनमा गरिएका व्यवस्थाका राम्रा कुराको चर्चा गर्न समेत भूमिहिन, सुकुम्बासी, अव्यवस्थित बसोबासीलाई आग्रह गरिन् ।
मन्त्री अर्यालले अब मोही नै नरहनेगरी समस्याको समाधान गर्न खोजेको बताईन । मोहिका सन्दर्भमा हिजोको कानुनले गरेको व्यवस्थाले मोहीलाई कठिन बनाएको भन्दै उनले अब यो मुलुकमा कोहीपनि मोही नरहने सबै जग्गावाल बनाउने गरी विधेयकमा व्यवस्था गरिएको बताईन ।