भौतिक पूर्वाधार मन्त्रालयका लेखा अधिकृत पौडेलले पदीय मर्यादाको दुरुपयोग गरी गैरकानुनी रूपमा सम्पत्ति आर्जन

5

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गण्डकी प्रदेश अन्तर्गतको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका लेखा अधिकृत झलक शर्मा पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) को मुद्दा दायर गरेको छ। आयोगले आइतबार काठमाडौँस्थित विशेष अदालतमा पौडेलसहित उनका परिवारका सदस्य र अन्य सहयोगीहरूविरुद्ध करोडौँ रुपैयाँ बिगो कायम गरी आरोपपत्र दायर गरेको हो।

अख्तियारका अनुसार लेखा अधिकृत (आठौँ तह) का पौडेलले पदीय मर्यादाको दुरुपयोग गरी गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको र उक्त अवैध धनलाई वैध देखाउन विभिन्न व्यक्तिको नाममा फेक ऋण सापटीको कारोबार देखाएको अनुसन्धानबाट खुलेको छ। उनले सम्पत्तिको वास्तविक स्रोत लुकाउन, छल्न र बदल्ने बदियत राखेर वित्तीय कारोबारको जटिल जालो तयार पारेको आयोगको ठहर छ। अनुसन्धानका क्रममा पौडेल र उनकी श्रीमती हुमा कुमारी उपाध्यायको नाममा बैंक तथा सहकारी संस्थाहरूमा रहेको २ करोड ५१ लाख ३४ हजार ४६२ रुपैयाँ अवैध देखिएको छ।

उक्त रकममा ब्याजसमेत जोडेर २ करोड ५८ लाख ६७ हजार ३२४ रुपैयाँ बिगो कायम गरिएको छ। पौडेलले आफूले आर्जन गरेको सम्पत्तिको स्रोत पुष्टि गर्नका लागि कुनै ऋण नै नलिई विभिन्न व्यक्तिहरूलाई २ करोड ५३ लाख रुपैयाँ ऋण फिर्ता गरेको भनी झुट्टा कागजात तयार पारेको समेत भेटिएको छ। यस प्रकरणमा पौडेललाई मुख्य अभियुक्त बनाइएको छ भने उनलाई सहयोग गर्ने श्रीमती हुमा कुमारी उपाध्याय, जमुना कुमारी रोका क्षेत्री, हरि प्रसाद पौडेल र शान्ति दराई पौडेललाई मतियारको रूपमा प्रतिवादी बनाइएको छ।

भ्रष्टाचारको रकम हो भन्ने थाहा पाउँदापाउँदै पनि सम्पत्तिको प्रकृति र स्रोत लुकाउन सहयोग गरेको भन्दै उनीहरूविरुद्ध पनि कारबाहीको माग गरिएको छ। अख्तियारले मुख्य अभियुक्त झलक शर्मा पौडेलसँग २ करोड ५८ लाख ६७ हजार ३२४ रुपैयाँ बिगो र सोही बमोजिमको जरिवानाका साथै कैद सजायको माग गरेको छ। साथै, उनको खातामा रहेको १ करोड ७० लाख १३ हजार ५० रुपैयाँ जफत गर्न समेत माग गरिएको छ।

मतियारका रूपमा रहेकी उनकी श्रीमती हुमा कुमारी उपाध्यायसँग २ करोड २३ लाख, जमुना कुमारी रोका क्षेत्रीसँग १ करोड ६३ लाख ६ हजार र हरि प्रसाद तथा शान्ति दराई पौडेलसँग १ करोड ३८ लाख रुपैयाँ बिगो कायम गरिएको छ। उनीहरूलाई मुख्य अभियुक्तलाई हुने सजायको आधा कैद र जरिवाना गर्न मागदाबी गरिएको आयोगका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीले जानकारी दिएका छन्। पौडेलविरुद्ध यसअघि असार २५ गते गैरकानुनी सम्पत्ति आर्जनकै विषयमा अर्को भ्रष्टाचार मुद्दा समेत दायर भइसकेको छ।

समाचार वर्गहरू