मंसिर १४ गते हुने उपनिर्वाचनका लागि मनोनयन दर्ता आज

16

(काठमाडौं) – प्रतिनिधिसभा र प्रदेशसभाका रिक्त पदहरूमा आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि (बिहीबार) आज उम्मेदवारको मनोनयन दर्ता हुँदैछ । स्थानीय तहको मनोनय दर्ता भने कार्तिक २७ गतेका लागि तोकिएको छ ।

निर्वाचन आयोगले सम्बद्ध जिल्ला निर्वाचन कार्यालयमा उम्मेदवारी मनोनयन हुने जनाएको छ । प्रतिनिधिसभा र प्रदेशसभा उम्मेदवारको मनोनयन दर्ता आज (बिहीबार) बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म तोकिएको छ । प्रतिनिधिसभा र प्रदेशसभा उम्मेदवारहरूले सम्बन्धित क्षेत्रको निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गराउन सक्नेछन् ।

आयोगका अनुसार मनोनयन दर्तापछि बिहीबारै दिउँसो साढे १ बजेदेखि ३ बजेसम्म मनोनयन दर्ता गराएका उम्मेदवारहरूको सूची प्रकाशित हुनेछ । भोलिपल्ट शुक्रबार बिहान ११ बजेदेखि अपराह्न ५ बजेसम्म उम्मेदवारहरूविरुद्ध उजुरी दिने समय निर्धारण गरिएको छ । २३ गते दिउँसो साढे १ बजेसम्म उजुरीउपर जाँचबुझ गरी सोही दिन दिउँसो ३ बजेदेखि पाँच बजेसम्म उम्मेदवारहरूको नामावली प्रकाशन गर्ने आयोगले जनाएको छ ।

कुनै उम्मेदवारहरूले नाम फिर्ता लिन चाहे २४ गते बिहान १० बजेदेखि १ बजेसम्मको समय निर्धारण गरिएको छ । त्यसपछि सोही दिन ३ बजेदेखि पाँच बजेसम्म उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशत गर्ने कार्यक्रम छ । २५ गते बिहान ११ बजेदेखि अपराह्न चार बजेसम्म आयोगले उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गर्ने छ ।

प्रतिनिधिसभा तर्फ कास्की क्षेत्र नं. २, प्रदेशसभा तर्फ भक्तपुर १(१), बाग्लुङ २(२) र दाङ ३(२) क्षेत्रमा निर्वाचन हुँदैछ । रिक्त स्थानमा उम्मेदवारी दिनेले नागरिकता वा मतदाता परिचयपत्रको प्रतिलिपि, मतदाता नामावलीमा नाम भएको प्रमाण तथा राजनीतिक दलका तर्फबाट उम्मेदवार बन्नेले सम्बद्ध दलबाट प्राप्त औपचारिक पत्र मनोनयनपत्रसँगै बुझाउनुपर्नेछ ।

प्रतिनिधिसभाको उम्मेदवारले १० हजार र प्रदेशसभाको उम्मेदवारले ५ हजार रुपैयाँ धरौटी राख्नुपर्नेछ । मतदानमा खसेको कुल सदर मतको १० प्रतिशतभन्दा बढी ल्याउने उम्मेदवारले मात्र धरौटी फिर्ता पाउने आयोगले जनाएको छ । मंसिर १४ मै स्थानीय तहका रिक्त स्थानको पनि उपनिर्वाचन हुँदैछ ।

समाचार वर्गहरू