मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान

8

काठमाडौं – मधेश प्रदेश प्रमुख सुमित्रा भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेकी छन्। बुधबार मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत नपाएपछि प्रदेश प्रमुख भण्डारीले नयाँ सरकार गठनको आह्वान गरेकी हुन्।

प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शत्रुधन यादवले विज्ञप्ति जारी गरी प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा दाबी पेश गर्न शुक्रबार बिहान १० बजेसम्मको समय दिएको उल्लेख गरे।

‘संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मिति २०८१÷०२÷२५ गते शुक्रबार बिहान १० बजेभित्र मधेश प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त गर्ने प्रयोजनका लागि आफ्नो दाबी पेस गर्न माननीय प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीज्यूले आव्हान गर्नु भएको बेहोरा जानकारीका लागि अनुरोध छ’, सूचनामा भनिएको छ।

मधेश प्रदेशमा चौथो ठूलो दल जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनाउने एमाले, माओवादीलगायत सम्मिलित गठबन्धनको समझदारी छ । १०७ सदस्यीय मधेश प्रदेशसभामा एमालेका २४ (सभामुखबाहेक), जनमतका १३, माओवादीका ९ र एकीकृत समाजवादीका ७ सांसद छन् । एक–एक सांसद रहेका संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले पनि यही गठबन्धनलाई साथ दिने जनाएका छन् ।

मुख्यमन्त्री यादवलाई कांग्रेस (२२), जसपा नेपाल (१९), लोसपा (८) र राप्रपा (१) ले मात्र विश्वासको मत दिए । अब आधा दर्जन दल मिलाएर नयाँ सरकार गठन बनाइए पनि जुनसुकै बेला संकटमा पर्ने सम्भावना देखिन्छ । मुख्यमन्त्री यादवले नै पनि आफ्नो सरकार टिकाउन पटक–पटक मन्त्री थपघट गर्नुपरेको थियो ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू