काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन जति जति नजिकिंदैछ, त्यति त्यति रास्वपाबाट नेता कार्यकर्ताले उक्त पार्टी छाड्ने क्रम बढेको छ ।
रास्वपाका मकवानपुर लगायत केही जिल्ला सभापतिले नै पार्टी परित्याग गरेको घोषणा गरिरहेका छन् । मकवानपुर जिल्लाका रास्वपा सभापति भरत पराजुली आइतबार मात्र नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
यसैक्रममा पश्चिम नवलपरासीमा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाड्ने क्रम बढेको छ । सोमबार सुस्ता गाउँपालिकाका सचिव कृष्णप्रसाद पन्थले रास्वपा छाडेको घोषण गरेका छन् ।
रास्वपाको भनाइ र गराइमा एकरुपता नभएको र पार्टी अवसरवादको चङ्गुलमा परेकाले पार्टी छाडेको पन्थले बताएका छन् । दुई दिन अगाडि मात्रै सुस्ताकै रास्वपा उपसभापति गुप्त सेन ठकुरीले पनि पार्टी छाडेका थिए ।
उनले पनि पार्टीको भनाई र गराईमा एकरुपता नदेखिएको र देशलाई निकास दिनसक्ने अवस्था नदेखेर पार्टी छाडेको बताएका थिए । कांग्रेसका नेता बिक्रम खनाललाई रास्वपा भित्र्याएर टिकट दिएपछि सो क्षेत्रका रास्वपाका कार्यकर्ता असन्तुष्ट देखिएका हुन् ।
यसैबीच, ललितपुरको महालक्ष्मी नगरमा राष्ट्रिय स्वतन्त्र पार्टीकी उपसभापति पूजा बस्नेत विश्वकर्मा नै नेपाली कांग्रेसको सभामा पुगेकी छन् । उनी भक्तपुर क्षेत्र नम्बर २ नेपाली काङ्ग्रेसका उम्मेदवार कविर राणालाई जिताउन भन्दै सोमबार आयोजित एक सभामै मिसिएकी थिइन् ।