महासमितिमा पौडेलको पूरक प्रस्ताव– गठबन्धन नगरौं, ०८२ मै १५औँ महाधिवेशन गरौं

30

काठमाडौं – कांग्रेस केन्द्रीय सदस्य तथा युवा नेता प्रदीप पौडेलले महासमिति बैठकमा पूरक प्रतिवेदन पेस गरेका छन् । उनले पेश गरेको प्रस्तावमा गठबन्धन नगर्ने र ०८२ मंसिरमा १५औँ महाधिवेशन सम्पन्न गर्नेसहित २८ बुँदे सुझाव छन् । 

‘जनताले मतदान गर्ने निर्वाचनमा कांग्रेसले निर्वाचनपूर्व अन्य कुनै पनि पार्टीसँग गठबन्धन वा तालमेल नगर्ने,’ उनको प्रस्तावमा छ, ‘पार्टीलाई मतदान गर्न पाउनु सदस्य वा शुभेच्छुकको हक हो । त्यो हक खोस्ने अधिकार नेतृत्वलाई हुन सक्दैन । कांग्रेस आफ्नै सामथ्र्यमा उभिएर चुनावी मैदानमा होमिनेछ, प्रतिस्पर्धा गर्नेछ ।’ 

साथै एकैखाले सदस्यता, अनियमितता र भ्रष्टाचार प्रकरणमा निष्पक्ष व्यक्तिहरूलाई सहभागी गराएर अनुसन्धान गर्ने र श्वेतपत्र जारी गर्ने तथा पार्टीका दोषी देखिए पनि पार्टी आफैँले राज्यका निकायमा छानबिन र कारबाहीका लागि सिफारिस गर्नुपर्ने उनको प्रस्तावमा छ ।

केन्द्रीय सदस्यले एक महिनाभित्र सम्पत्ति र त्यसको स्रोतको स्वघोषणा गर्ने, विज्ञहरू सम्मिलित गरी ६ महिनाभित्र देश विकासको पाँच, १० र १५ वर्षे भिजन तयार गर्ने युवा पलायन रोक्न, उत्पादनमुखी व्यवसायको प्रवर्द्धन गर्ने, नवउद्यमीहरूलाई व्यावसायिक वातावरण सिर्जना गर्ने उनको प्रस्तावमा छ ।

भ्रष्टाचार, यौनजन्य हिंसा, सामाजिक विभेदलगायत फौजदारी मुद्दामा आरोपित वा छानबिनमा भएको सदस्य पार्टीबाट स्वतः निलम्बित हुने व्यवस्था र वडाध्यक्षभन्दा माथि प्रधानमन्त्रीसम्मका लाभको पदमा रहेका सदस्यको सार्वजनिक लेखा परीक्षण अनिवार्य गर्ने विषय उनको प्रस्तावमा छ । 

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू