मिटरब्याजीलाई कारबाही गर्ने ऐन रोक्न प्रतिपक्षी दलले संसद् अवरोध गरे – प्रधानमन्त्री दाहाल

13

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले सरदार प्रितम सिंहबारे आफूले बोलेको विषयलाई उचालेर विपक्षीले बबन्डर गर्न खोजेको बताएका छन् । विपक्षीहरू पूर्वाग्रही र विक्षिप्त भएको भन्दै उनले आफू आफ्नो मिसनमा निरन्तर अगाडि बढ्ने बताए ।

बुधबार अखिल क्रान्तिकारी स्ववियु काउन्सिलको राष्ट्रिय भेलामा प्रधानमन्त्री दाहालले भने, ‘यसलाई उचालेर बबन्डर गर्न खोजिएको छ । त्यो बेलुन पनि छिट्टै फुट्नेवाला छ । त्यसले केही हुनेवाला छैन । तर, यसबाट हाम्रा विपक्षीहरूमा कति धेरै विक्षिप्तता छ, कति धेरै पूर्वाग्रह छ भन्ने देखिन्छ । तर, हामी दृढताका साथ आफ्नो मिसनमा अगाडि बढेका छौँ ।’

सिंहले बोलेको विषयमा आफूले धारणा राखेको प्रधानमन्त्री दाहालको भनाइ छ । ‘मैले बोलेको मेरो कुरा होइन । उहाँले बोलेको कुरा भनेको हुँ । मैले उहाँ सेवा र यातायातको क्षेत्रमा मात्रै होइन । राजनीतिमा पनि चासो राख्नुहुन्छ । मलाई प्रधानमन्त्री बनाउन उहाँ कहिले दिल्ली, कहिले नेपालका पार्टीहरूसँग लाग्नुहुन्थ्यो भनेर उहाँबारे उहाँले भनेको कुरा बोलेको हुँ।’

प्रधानमन्त्री दाहालले प्रतिनिधिसभामा प्रस्तुत मिटरब्याजीलाई कारबाही गर्ने ऐन रोक्न प्रतिपक्षी दलले संसद् अवरोध गर्न खोजेको आरोप लगाए । ‘एउटा पुस्तक विमोचनमा सन्दर्भवश मैले भनेको विषयलाई बंग्याएर संसद् अवरुद्ध गर्ने कोसिस हुँदै छ । खासमा यसको अर्थ अर्कै छ,’ उनले अगाडी भने ‘मिटरब्याजीहरूलाई कारबाही गर्ने ऐन आज संसद्बाट पास हुने कार्यसूची थियो । कतिपय दललाई मिटरब्याजीलाई कारबाही गर्न खोजेको कुरा मन परेको छैन । भ्रष्टाचारीलाई कारबाही गर्ने मन परेको छैन । यसलाई रोक्न संसद् अवरुद्ध गरिँदै छ ।’

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू