‘मुख्यमन्त्रीले बहिष्कार गर्दैमा मधेशमा रोकिएन एसईई’

66
फाइल फोटो

काठमाडौं – शिक्षा मन्त्रालयले मधेशका मुख्यमन्त्री सतीशकुमार सिंहले कक्षा १० को अन्तिम परीक्षा एसईई बहिष्कार गर्दैमा कुनै असर नपर्ने स्पष्ट पारेको छ।

शिक्षा मन्त्रालयले  परीक्षार्थीलाई तनावमा नलिन र परीक्षामा सहभागी हुन आग्रह गरेको छ।  प्रचलित कानुनअनुसार एसईई सञ्चालन र व्यवस्थापनको अधिकार प्रदेश सरकारलाई छ। परीक्षा बिहीबारबाट सुरु भएको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले मधेशका मुख्यमन्त्रीले बहिष्कार गर्दैमा परीक्षामा कुनै असर नपर्ने बताए।  उनले परीक्षा सञ्चालनका लागि त्यहाँको सरकारसँग समन्वय गरिरहेकाले ढुक्कसँग परीक्षामा सहभागी हुन परीक्षार्थीहरूलाई आग्रह गरेका छन्। उनले भने, ‘परीक्षाको सम्पूर्ण जिम्मेवार प्रदेश सरकारले पाएका छन्। त्यसैअनुसार काम भइरहेको छ। परीक्षा नहुने भन्ने कुरै छैन।’

मुख्यमन्त्री सिंहले परीक्षाको मुखैमा आएर मंगलबार परीक्षा बहिष्कारको घोषणा गरेका थिए। सिंहले केन्द्राध्यक्ष चयन प्रक्रियामा असन्तुष्टि जनाएका छन्।

मुख्यमन्त्री सिंहको ‘परीक्षा बहिष्कार’ को अभिव्यक्तिपछि शिक्षामन्त्री विद्या भट्टराईले चासो र चिन्ता व्यक्त गरेकी छन्। प्रवक्ता  सापकोटाले मधेश प्रदेशमा परीक्षाको विषयमा राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० सँग समन्वय भइरहेको जानकारी दिए।

समाचार वर्गहरू