मेलम्चीको पानी काठमाडौंमा पुनः वितरण सुरु

81

काठमाडौं – काठमाडौंमा मेलम्चीको पानी मंगलबारदेखि पुनः वितरण सुरु गरिएको छ। खानेपानीमन्त्री प्रदीप यादवले सुन्दरीजलस्थित पानी प्रशाेधन केन्द्रबाट बर्खा लागेपछि वितरण बन्द गरिएको पुनः वितरण कार्यक्रमको शुभारम्भ गरेका हुन्।

मंगलबार प्रशोधन केन्द्रबाट काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)का विभिन्न वितरण शाखामा पानी पठाइएको हो।

ती शाखाहरूबाट पानी वितरण प्रक्रिया सुरु गरिने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक इन्जिनियर रत्नप्रसाद लामिछानेले जानकारी दिए।

खानेपानीमन्त्री यादव र मेलम्ची संघर्ष समितिबिच सोमबार राति भएको वार्तामा काठमाडौंमा पानी लैजाने विषयमा सहमति भएपछि मंगलबार मेलम्चीको पानी सुन्दरीजलमा ल्याइएको थियो। वार्तापछि बाढीपीडित संघर्ष समितिबाट आन्दोलनका सबै कार्यक्रम हाललाई स्थगन गर्ने र काठमाडौं उपत्यकामा पानी पथान्तरण गर्न मेलम्ची खानेपानी विकास समितिलाई सहयोग गर्ने सहमति भएको थियो।

बर्खा सुरु भएसँगै धमिलो आउन थालेपछि गत असार १० देखि पानी ल्याउन बन्द गरिएको थियो। मेलम्चीको पानी बन्द गरेपछि केयुकेएलले विभिन्न स्रोतबाट जम्मा गरेर करिब १६ करोड लिटर पानी वितरण गर्दै आएको थियो।

समाचार वर्गहरू