काठमाडौं – जल तथा माैसम विज्ञान विभागले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएकाे छ।
मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको विभागकाे भनाइ छ। जसकारण अहिले सातै प्रदेशको एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसाे कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशको थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बागमती, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
यसैबिच विभागले बैतडीमा भारी वर्षा भएको जनाएकाे छ। माैसमबारे नियमित अपडेट गराउँदै विभागले बैतडीको दैनसिलि (सिद्धापुर) वर्षामापन केन्द्र र आसपासका क्षेत्रमा भारी वर्षा भएको जनाएकाे हो।
विभागले थप वर्षा हुनसक्ने सम्भावना रहेकाले उक्त जिल्ला भएर बग्ने ससाना नदीमा जलसतह केही बढ्नसक्ने जनाएको छ। कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन विभागको आग्रह छ।