काठमाडौं – रास्वपाका सभापति एवं गोर्खा मिडिया नेटवर्कका पूर्वप्रबन्ध निर्देशक रवि लामिछानेविरुद्धको सहकारी ठगी एवं संगठित अपराध मुद्दामा लामिछानेको बयान सकिएको छ ।
लामिछानेविरूद्धको पेसी रुपन्देही जिल्ला न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा परेको थियो । योगीको इजलासमा दिउँसो १ बजेबाट भएको बयान सकिएको अदालतका श्रेष्तेदार उपसचिव यज्ञमूर्ती ज्ञवालीले बताए । ‘अब बिहीबार थुनछेक बहस सुरू हुन्छ,’ उनले भने, ‘थुनछेक बहस नहुँदासम्मका लागि जिम्माजमानीमा राख्न आदेश भएको छ ।’ आदेशपछि लामिछानेलाई वकिल र परिवारको जिम्मा लगाइएको उनले बताए ।
सोही मुद्दाको प्रतिवादका लागि लामिछाने बुधबार १० बजे नै अदालत पुगेका थिए । उनी पुगेलगत्तै अदालतले उनलाई हाजिर गराएर न्यायाधीशहरूको गोलाप्रथाबाट मुद्दाको पेसी चढाएको थियो ।
लामिछानेविरुद्ध आइतबार बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको रकम ठगी र संगठित अपराधको कसुरमा अदालतमा दर्ता भएको उक्त मुद्दामा २२ जनाविरुद्ध ५५ करोड ५९ लाख ८३ हजार रुपैयाँ बिगो दाबी गरिएको छ । लामिछानेविरुद्ध २ करोड व्यक्तिगत बिगो तोकिएको छ । सामूहिकतर्फ १० करोड ९९ लाख रुपैयाँको छुट्टै बिगो माग गरिएको छ ।