रवि समूहले डीपीलाई च्याप्दा सरकार गठनमा रास्वपालाई सकस !!!

34

काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टीले भर्चुअल बैठकमार्फत ५७ जना समानुपातिक सांसदको नाम छानेको छ । निर्वाचन आयोगले ती नाम सदर गरेपछि मात्रै सार्वजनिक गरिने बताइएको छ । यसवीच आगामी क्याबिनेटमा मन्त्री बन्न इच्छुकहरुको दौड र खिचातानीले माहौल तातेको अवस्था छ ।

प्रधानमन्त्री सुशीला कार्कीले आजको क्याबिनेट बैठकबाट गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभाको रिक्त एक सांसदमा मनोनितका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्नुभएको छ । आजैको बैठकबाट आफ्ना निजी सचिव आदर्श श्रेष्ठलाई पाँच वर्षका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा नियुक्त गराउनुभएको छ ।

उक्त नियुक्तिलाई लिएर जेन जी अगुवाहरुले ‘आमाले लोभ थाम्न नसकेको’ अर्थ लगाएका छन् । श्रेष्ठ प्रधानमन्त्रीको सचिवालयमा श्रीमतीलाई नियुक्ति दिलाएर विवादमा तानिएका थिए । गतसाता बस्ने भनिएको मन्त्रिपरिषद बैठकअघि नेपाल राष्ट्र बैंकको रिक्त दुई डेपुटी गभर्नरमा भूतपूर्व अर्थमन्त्री, गभर्नर,योजना आयोगका उपाध्यक्ष एवम् तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक सल्लाहकार युवराज खतिवडाका छोरीज्वाईं रामशरण खरेललाई नियुक्ति दिलाउन एक जना तिमिल्सिना थरका बिचौलियासँग मिलेको आरोपसमेत उनले खेपेका थिए ।

भलै गत साता क्याबिनेट बैठक नबसेपछि उक्त योजना त्यत्तिकै तुहियो । कतिपयले अर्याललाई पुनः गृहमन्त्री बनाउँदा विपक्षी दल र तिनका नेता तथा कार्यकर्तासँग दूरी नबढ्ने, प्रतिशोधको राजनीति हुन नपाउने र राजनीतिक ब्यालेन्स गर्न सजिलो हुने अर्थ लगाउँदै राष्ट्रिय सभामा लगिएको बताएका छन् । चैत १० गतेसम्ममा बालेन नेतृत्वको सरकार बन्ने भनिए पनि गृहमन्त्रीमा कुरो बाझिएको रास्वपा स्रोतको दावी छ ।

रवि समूह कुनै हालतमा उपसभापति डिपी अर्याललाई उपप्रधानमन्त्रीसहितको गृहमन्त्री बनाउनुपर्ने अडानमा बसेको छ । बालेन समूहले डिपीको सट्टा आफ्नो अनुकूलको व्यक्तिलाई गृहको जिम्मेवारी दिनुपर्ने भन्दै आएको अवस्था छ । गृहमा एमाले महासचिव शंकर पोखरेललाई हराएका दाङका विपीनकुमार आचार्यको नाम पनि सशक्त ढंगले उठाउन थालिएको अवस्था छ । बालेनको कोर टिमले अघि सारेका पात्रहरुमा सस्मित पोखरेलको नाम शिक्षामन्त्रीमा छ ।

उनी काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ बाट निर्वाचित हुन् । पहिले सभामुखमा इच्छुक जगदीश खरेलले अहिले सञ्चारलाई बटम लाइन बनाएको र मनिष झाको सन्दर्भमा अमरेशले आफ्नो व्यवस्थापनको कुरो उठाउँदा कुरोमा गाँठो परेको आकलन छ । मनिषले पर्यटन वा सञ्चारको अपेक्षा राखेका छन् । स्रोत भन्छ, ‘बालेन सरकार गठनमा पनि प्रधानमन्त्री कार्कीकै बोली बिक्ने अवस्था देखियो । राष्ट्रिय सभामा गृहमन्त्री अर्याललाई सिफारिस गर्नुले त्यसैको संकेत गर्छ ।’

कतिपयले अर्याललाई पुनः गृह मन्त्रालयमा निरन्तरता दिन अघि सारिएको अनुमान लगाएका छन् । रविको तर्फबाट डिपी अघि सरेपछि उनलाई टक्कर दिने उद्देश्यसहित प्रधानमन्त्रीले अर्यालको नाम अघि सारेको निश्कर्ष निकालिएको छ ।

कतिपयले अर्याललाई पुनः गृहमन्त्री बनाउँदा विपक्षी दल र तिनका नेता तथा कार्यकर्तासँग दूरी नबढ्ने,प्रतिशोधको राजनीति हुन नपाउने र राजनीतिक ब्यालेन्स गर्न सजिलो हुने अर्थ लगाउँदै राष्ट्रिय सभामा लगिएको बताएका छन् । यता जेन जीहरुले आजैदेखि माइतीघरमा नारा लगाउन थालेका छन् । सरकारले प्रतिवेदन सार्वजनिक र कार्यान्वयनमा परिपक्वता देखाउन नसके असन्तुष्टि र विरोध प्रदर्शनले उग्र रुप लिनसक्ने आकलन सुरक्षा निकायहरुको देखिन्छ भन्दै जनआस्था साप्ताहिकले समाचार प्रकाशन गरेको छ ।

समाचार वर्गहरू