रामेछापमा बस दुर्घटनामा परेका पीडित पक्षद्वारा शव जिम्मा लिन अस्वीकार : यातायात अवरुद्ध

6

काठमाडौं । मंगलबार रामेछापमा बस दुर्घटनामा परेका पीडित पक्ष र स्थानीयले यातायात सञ्चालनमा अवरोध गरेका छन्। काठमाडौंबाट रामेछापको मन्थली-ढाडे हुँदै ओखलढुंगातर्फ जाँदै गरेको प्र–३ ००१–०५ ख ९९७५ नम्बरको बस त्रिवेणी (मन्थली) नजिकैको मोडमा दुर्घटना हुँदा १२ जनाको मृत्यु र ८ जना घाइते भएपछि पीडितले यातायात रोकेका हुन्।

बस दुर्घटनाको सत्यतथ्य छानबिन गर्नुपर्ने उनीहरूको माग छ।उनीहरूले अरनिको यातायात व्यवसायी समिति सम्पर्कमा आउन, वार्तामा बस्न र मृतकका परिवार, घाइतेलाई उचित क्षतिपूर्ति दिनुपर्ने मागसहित मन्थलीबाट काठमाडौं र तराईतर्फ जाने-आउने र मन्थली-खिम्ती सडकतर्फ जाने आउने सवारी साधन बन्द गरेका हुन्। सडक अवरोध भएपछि अरनिको यातायातको बस रोकिएका छन्।

१२ जनाको मृत्यु हुने गरि दुर्घटना हुँदा पनि स्थानीय प्रशासन र अरनिको यातायात समितिले कुनै चासो नदिएको भन्दै स्थानीयहरुले बुधबार बिहानैदेखि रामेछापमा सडक अवरुद्ध गरेका हुन्। माग पूरा नभएसम्म उनीहरुले मृतकहरूको शव जिम्मा लिन अस्वीकार गरेका छन् । दुर्घटनाको विषयमा छलफल गर्न जिल्ला प्रशासन कार्यालय, मन्थलीमा सर्वदलीय बैठक बसिरहेको छ।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार दुर्घटनामा लिखु तामाकोशी गाउँपालिका(४ बिजुलीकोटकी २५ वर्षीया बबि तामाङ, वडा ४ का २८ वर्षीय दीपेश बस्नेत, वडा ४ का दीपेन्द्र बस्नेत, वडा ७ का ३५ वर्षीया सानुमाया तामाङ, ३१ वर्षीया तारा तामाङ, ३६ वर्षीय भिमबहाबहादुर तामाङ, २४ वर्षीया रमिता तामाङ, वडा ३ चित्रेकी १७ वर्षीय सुकृत तामाङ, वडा ६ खिम्तीकी ४५ वर्षीया मन कुमारी बरुवाल, उमाकुण्ड गाउँपालिका  ६ गुप्तेश्वरका ५७ वर्षीय धर्मसिंह सुनुवार, सिन्धुली गोलन्जोर गाउँपालिका वडा ६ का ३४ वर्षीय शिव श्रेष्ठ, दोलखाको भिमेश्वर नगरपालिका वडा नम्बर ८ का ६० वर्षीय मानबहादुर तामाङको मृत्यु भएको हो।

घाइतेको धुलिखेल र काठमाडौंको अस्पतालमा उपचार भइरहेको छ। बस तामाकोशी नदीमा खसेको थियो। सुरक्षाकर्मी र स्थानीयले बसलाई किनारामा निकालेका छन्। केही व्यक्ति बेपत्ता भएकाले खोजी कार्य जारी रहेको प्रहरीको भनाई छ।

समाचार वर्गहरू