राष्ट्रपति पौडेलबाट भारतीय सेनाध्यक्ष द्विवेदीलाई मानार्थ महारथीको उपाधि प्रदान

70

काठमाडौं – भारतीय सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरिएको छ।

बिहीबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले द्विवेदीलाई मानार्थ महारथीको दर्जा प्रदान  गरेका हुन्।

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, रक्षा मन्त्री मानवीर राईलगायतको उपस्थीति रहेको थियो । भारतीय स्थल सेनाका सेनाध्यक्ष द्विवेदी प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा बुधबार नेपाल भ्रमणमा आएका हुन्।

नेपाल–भारतबिचको सैनिक सम्बन्धको निरन्तरता स्वरुप दुवै देशले दुवै देशका प्रधानसेनापतिलाई मानार्थ सेनापतिको दर्जा प्रदान गर्ने परम्परा रहँदै आएको छ ।

सन् १९५० देखि नेपाल र भारतबीच एक–अर्को देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्ने परम्परा छ ।

गत १६ असारमा सेनाध्यक्ष नियुक्त भएका द्विवेदीको यो पहिलो औपचारिक नेपाल  भ्रमण हो। शुक्रबार प्रधानमन्त्री केपी ओली र रक्षामन्त्री मानवीर राईसँग उनले बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम तय भएको छ।

समाचार वर्गहरू