काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले असार १७ गते ४ बजे बस्ने गरी राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेकी हुन् ।
मन्त्रिपरिषद्को बिहीबारको बैठकले राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।
सोही सिफारिसका आधारमा राष्ट्रिय सभाको अधिवेशन आह्वान गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता रूपनारायण भट्टराईले जानकारी दिए ।
राष्ट्रिय सभाको अधिवेशन यसअघि २०७७ पुस महिनामा बसेको थियो । संसद्को अधिवेशन अन्त्य भएको ६ महिनाभित्र अर्को अधिवेशन बोलाउनुपर्ने संवैधानिक व्यवस्था छ ।
