पारसले राष्ट्रिय टिमको कप्तानी छोडे

14

काठमाडौं – क्रिकेटर पारस खड्काले राष्ट्रिय टिमको कप्तानी छोडेको घोषणा गरेका छन् । झण्डै एक दशकदेखि राष्ट्रिय टिमको नेतृत्व सम्हालेका खड्काले अब कप्तान पद छाड्ने निर्णय लिएका हुन् ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले नेपालको निलम्बन फुकुवा गरेको भोलिपल्टै खड्काले विज्ञप्ति जारी गर्दै कप्तानी छाडेको घोषणा गरेका हुन् ।

उनको कप्तानीमा नेपालले टी–ट्वान्टी विश्वकप खेल्यो भने एक दिवसीय मान्यता पनि पायो । अब नेपाल टेष्ट नेशन बन्ने लक्ष्यका साथ अगाडि बढिरहेको बेला पारसले कप्तानी हस्तान्तरणको निर्णय लिएका हुन् ।

आज एक विज्ञप्ति जारी गरी पारसले युवा पुस्तालाई नेतृत्व हस्तान्तरणका लागि कप्तानी त्यागको घोषणा गरेको जनाएका छन् ।

नयाँ जोश र प्रतिबद्धतासहित सबैलाई संलग्न गराएर नेपाली क्रिकेटलाई अघि बढाउनु पर्ने समेत खड्काको भनाइ छ । साथै उनले आफ्नो सफल क्रिकेट यात्रामा सहयोग गर्ने सबै खेलाडी, प्रशिक्षक, अम्पाएर, शुभचिन्तक र परिवारका सदस्यलाई पनि धन्यवाद दिएका छन् । खड्का नेपाली क्रिकेटमा सर्वाधिक सफल कप्तान र खेलाडी मानिन्छन् ।

खड्काले सन् २००९ देखि राष्ट्रिय टोलीको कप्तानी सम्हादै आएका थिए । उनको कप्तानीमा नै नेपाल विश्वमा उदाहरणीय क्रिकेट टोलीको रुपमा उदाएको थियो । सन् २००९ मा विनोद दासपछि पारसले कप्तानको जिम्मेवारी पाएका थिए ।

उनले एसीसी टी २० एलिट कपमा मलेसियाविरुद्ध पहिलो पटक कप्तानी गरेका थिए । पारसको कप्तानीमा नेपालले डिभिजन ५ देखी ३ सम्मको उपाधि जितेको छ । त्यस्तै पारसले सन् २०१४ मा नेपाललाई पहिलो पटक टि ट्वान्टी विश्वकप खेलाएका थिए ।

पारसले आफ्नो कप्तानीमा नेपाललाई वान डे मान्यता, पहिलो वान डे सिरिज र टि ट्वान्टी सिरिज जिताएका थिए । पारस नेपालबाट वान डे र टि ट्वान्टी दुबैमा शतक प्रहार गर्ने एक्लो र पहिलो खेलाडी समेत हुन् ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले २०७३ बैशाखमा लगाएको निलम्बन सोमवार मात्रै शर्तसहित फुकुवा गरेको छ । फुकुवा भएको अर्को दिन पारसले कप्तानी पद छाडेका हुन् ।

समाचार वर्गहरू