राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरका सभापति भरत पराजुलीले राजीनामा

6

हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरका सभापति भरत पराजुलीले राजीनामा दिएका छन्। आज बिहान नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई भेटेपछि उनले पार्टीबाट राजीनामा दिएका हुन्। उनीसँगै रास्वपाका मकवानपुर क्षेत्र नम्बर-२ का चुनावी संयोजक निराजन बर्तौलासहित अन्य नेताहरु पनि काङ्ग्रेसमा फर्किन तयारी गरेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीले आज हेटौँडामा शक्ति प्रदर्शन गर्न लागिरहेकै बेला जिल्ला संयोजक नै कांग्रेस प्रवेश गरेका हुन्। गत निर्वाचनमा १२ हजार ५९ मत ल्याएर तेस्रो भएका उनलाई पार्टीले यसपटक टिकट दिएको थिएन। जसकाकारण रास्वपाभित्र असन्तुष्टि थियो।

उनले राजीनामा दिँदै सामाजिक सञ्जालमा भने, हामीले जुन उद्देश्य, मूल्य र आदर्शका साथ पार्टीलाई बुझेका थियौं, व्यवहारमा त्यसको ठीक विपरीत अवस्था विकसित हुँदै गएको महसुस भयो। सीमित व्यक्तिहरूको प्रभाव, चाकरीवाद, आलोचनालाई अस्वीकार गर्ने संस्कार तथा आन्तरिक लोकतन्त्र कमजोर हुँदै गएको अवस्थाले निराश बनायो।

मैले सधैं इमानदारी, निष्ठा र जनसेवाको भावनाका साथ राजनीति गरेँ। कुनै व्यक्तिको चाकरी गर्ने, व्यक्तिगत स्वार्थका लागि सम्झौता गर्ने वा आर्थिक प्रभावका आधारमा अघि बढ्ने प्रवृत्तिसँग म सहमत हुन सकिनँ। उनले रास्वपाको नेतृत्व तहको मूल्यांकन गर्ने शैली र व्यवहारका आधारमा भविष्यमा पनि कसैको उचित कदर नहुने सम्भावना देखिएकाले पार्टी छाडेको बताए।

समाचार वर्गहरू