रास्वपा एकल बहुमतको सरकार बनाउँदै, पूरा गर्ला त १०० बुँदे बाचापत्र ?

99

काठमाडौं – फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनको सुनामीमा लगभग दुईतिहाई सिट हात परेको रास्वपाले बहुमतको आधारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एकल बहुमतको सरकार बनाउने पक्कापक्की भइसकेको छ ।

त्यसको लागि प्रधानमन्त्रीको उम्मेदवार एवं रास्वपाका वरिष्ठ नेता बालेन्द्र साहले गृहकार्य थालिसक्नुभएको छ । झापा–५ मा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ४९ हजार ६१४ मतान्तरले पराजित गर्नुभएको साहले सरकार गठन गरेपछि जनताको अपेक्षा पूरा गर्ने आशा सबैमा जागेको छ ।

रास्वपाले अहिलेसम्म प्रत्यक्षतर्फमात्रै १२५ रिट जितिसकेको छ । समानुपातिकमा झण्डै ५० लाख मत ल्याउने सम्भावना छ । त्यसो हुँदा सो पार्टीले १७० भन्दा बढी सिट ल्याउने सम्भावना छ । सरकार बनाउन बहुमतका लागि १३८ सिट चाहिन्छ । त्यसमा ४६ सिट थप भए दुईतिहाईको बलियो सरकार बन्नेछ । यस्तो अवस्था नेपालको इतिहासमा पहिलो घटना हुने सम्भावना छ ।

रास्वपाकै सरकार बन्ने भएपछि पार्टीले घोषणा गरेको १०० बाचापत्र पूरा गर्छ कि गर्दैन भन्ने चासो सर्वत्र उब्जिएको छ । फागुन ७ गते बाचापत्र सार्बजनिक गरेको रास्वपाले पाँच वर्षको सरकार बनाएर १०० काम गर्ने वाचा गरेको थियो । उक्त बाचा निर्वाचन लक्षित हो कि लोकप्रियताका लागि मात्रै हो भन्ने सरकार बनेपछि नै थाहा हुनेछ ।

बाचापत्रमा संविधान संशोधनदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको विषय उठाएको छ । बाचापत्रसँगै तीन महिनाभित्र बहसपत्र तयार गर्ने उल्लेख छ ।

पूर्ण समानुपातिक संसद्, सांसद र मन्त्री नहुने व्यवस्था, गैरदलीय स्थानीय सरकार र सुधारिएको प्रादेशिक स्वरूप, दलित तथा पिछडिएका समुदायहरूमाथि भएका जाति विभेद, अन्याय र बहिष्करणप्रति नेपाल राज्यको तर्फबाट औपचारिक रूपमा क्षमायाचना गर्ने वाचा उल्लेख छ ।

त्यतिमात्र होइन सार्वजनिक सेवा लाइनमा नभई अनलाईनमा गर्ने, डिजिटल युगको सुरुआत, दलीय आबद्धता अन्त्य गर्ने अर्थात राष्ट्रभक्त कर्मचारीको दलमा आबद्धता अन्त्य गर्ने उल्लेख छ । भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनको छानबिन गर्न बनेको जाँचबुझ आयोगलाई कार्यान्वयन गर्ने वाचा पनि वाचापत्रमा गरेको छ ।

त्यसै गरी वाचापत्रमा भ्रष्टाचार नियन्त्रण तथा सुशासनसँग सम्बन्धित सुधारका कामहरूलाई अघि सारेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८, संवैधानिक परिषद् ऐन २०६६ र न्यायपरिषद् ऐन २०७३ लाई संस्थागत क्षमता, क्षेत्राधिकार, नियुक्ति प्रक्रिया, कर्मचारी छनौटलगायतलाई संशोधन गरी स्वतन्त्र, सक्षम र उत्तरदायी संवैधानिक निकायको संस्थागत शुसासन कायम गर्ने उल्लेख छ ।

रास्वपाले २०४६ सालदेखि महत्वपूर्ण सार्वजनिक पदमा आसिन व्यक्तिहरूको सम्पत्ति पारदर्शी र कानुनी प्रक्रियाअनुसार छानबिन गर्ने बाचा गरेको छ । अर्थात २०४६ सालदेखि राजनीतिमा लागेका र उच्चपदस्त कर्मचारीको सम्पत्ति छानबिन गर्ने बाचा गरेको छ ।

अवैध रूपमा आर्जित प्रमाणित सम्पत्ति जफत तथा राष्ट्रियकरण गर्न स्पष्ट कार्यविधि तयार गरी प्रभावकारी रूपमा कार्यान्वयन गर्ने बाचा पनि रास्वपाले गरेको छ ।

कुनै पनि प्रकारका भ्रातृ संगठन निर्माण नगर्ने स्पष्ट प्रतिबद्धता व्यक्त गर्दै वाचापत्रमा जनताले तिरेको करबाट तलबभत्ता लिएर राज्यका निकायहरूका विभिन्न ओहदामा बसेर राज्य र संविधानप्रति नभई आफ्नो मातृ राजनीतिक दलप्रति निष्ठा राख्दै काम गर्नु राष्ट्रप्रति अनैतिक र दण्डनीय कृत्य हो भन्ने धारणा स्पष्ट उल्लेख गरिएको छ ।

बाचापत्रमा दलिय आबद्धतालाई अन्त्य गर्ने धारणा पटकपटक दोहो¥याइएको छ । राजनीतिक दलबाटै बहुमत ल्याएको पार्टीले संगठन बनाउन नदिनु चुनौतिपुर्ण छ । सरकारमा आउनबित्तिकै कर्मचारीतन्त्र, शिक्षण सेवा, प्राध्यापन, सुरक्षा निकाय, अदालत तथा संवैधानिक अंगहरूलगायत राज्यको सेवा–सुविधा उपभोग गर्ने सबैको दलीय आबद्धता अन्त्य गर्न आवश्यक कानुनी र संस्थागत व्यवस्था कार्यान्वयन गर्ने वाचापत्रमा उल्लेख छ ।

त्यस्तै, संघीय मन्त्रालयको संख्या १८ मा सीमित गर्ने, प्रधानमन्त्रीको कार्यालयलाई प्रशासनिक निकायमात्रै नभई अन्तर मन्त्रालय समन्वय गर्ने निकायमा बिकास गर्ने बाचापत्रमा लेखिएको छ ।

नागरिकलाई न्यायिक पारदर्शीताको अनुभव गराउन अदालती सुनुवाईको प्रत्यक्ष प्रसारण गर्ने विकल्पबारे अध्ययन गरी प्रबन्ध मिलाउने, राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दललाई जनमतको आधारमा सार्वजनिक कोषबाट वार्षिक अनुदान दिने, बारम्बार एउटै व्यक्ति निर्वाचित हुने प्रवृति, पैसाको दुरुपयोग र अस्वस्थ प्रतिस्पर्धाले लोकतन्त्र र लोकतन्त्र र सुशासनमा गम्भीर असर पु¥याएकोले राजनीतिक दलसम्बन्धी, प्रतिनिधि सभासदस्य निर्वाचन ऐन र अन्य आवश्यक कानुन संशोधन गर्ने वाचापत्रमा उल्लेख छ । राष्ट्रिय योजना आयोगको परम्परागत संरचना परिवर्तन गर्ने, यातायात प्रणालीमा सुधार गर्ने उल्लेख छ ।

सयबुँदे बाचापत्रमा शिक्षा, स्वास्थ्य, कृषि, सहकारी, विज्ञान र प्रविधि, अपाङगता, जलवायु परिवर्तन लगायत विषय उल्लेख छ । वाचापत्रको अन्तिम बुदाँमा लेखिएको छ–‘देश बनाउँछु भन्दै उदाएका तर सत्तामा पुगेपछि बिग्रेका दलहरूको लामै इतिहास छ । हामीले बाटो नबिराउन बलियो सदाचारयुक्त संयन्त्र बनाउनेछौं । पार्टीका प्रत्येक सदस्यले नम्रता, परिश्रम, सेवा, जवाफदेहीता र सबैप्रति सम्मान गर्ने आचारसंहिताको पालना गर्नुपर्नेछ । हामी भ्रष्टाचार बिरुद्ध शून्य सहनसिलताको अभ्यास गर्नेछौं । नेपाल समाचारपत्र

समाचार वर्गहरू