काठमाडौं – नेपाली कांग्रेसका उपसभापति तथा सांसद धनराज गुरुङले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई संसद्को अवहेलनामा कारबाही गर्ने माग गर्दै सभामुख देवराज घिमिरेलाई पत्र लेखेका छन् ।
उपसभापति गुरूङले आइतबार प्रतिनिधि सभाको रोस्ट्रमबाट तथ्यहीन र आधारहीन आरोप लगाएर कांग्रेसका सांसदहरूमाथि मानमर्दन गर्न खोजेको उल्लेख गर्दै पत्र पठाएका हुन् ।
गृहमन्त्रीले अनैतिकरुपमा तथ्यहीन कुरा गर्दा संसद्को अवहेलना हुन पुगेको गुरुङले उल्लेख गरेका छन् । लामिछानेलाई बोलेको कुराहरु पुष्टि गर्न चुनौती दिँदै उपसभापति गुरुङले पुष्टि नभए उनीमाथी कारबाही गर्न माग गरेका छन् ।
‘प्रतिनिधि सभा नियमावलीको नियम २१९ मा सभाका सदस्यले पालना गर्नुपर्ने आचरण पनि निज गृहमन्त्रीले पालना नगरेकोले सो तर्फ समेत विचार गरि निजलाई संसद्को अवहेलनामा कारबाही गर्न गम्भीर रुपले माग गर्दछु । साथै कूटनीतिक राहदानी दुरुपयोग गरेको भन्ने आरोपको सम्बन्धमा सम्मानित सर्वोच्च अदालतले २०६४ असोज २४ गते गरेको फैसलाको प्रतिलिपी यसै निवेदनसाथ संलग्न गरेको छु’ गुरुङको पत्रमा उल्लेख छ ।