विद्या भण्डारीलाई वेलकम गरौं – विष्णु पौडेल

118

काठमाडौं – नेकपा एमालेको सचिवालय बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण गर्नुपर्ने प्रसंगले प्रवेश पाएको छ ।

वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू विष्णु पौडेल र रामबहादुर थापा बादलले यो प्रसंग बैठकमा राखेका हुन् ।

ईश्वर पोखरेल भण्डारीको पक्षमा पहिलेबाटै वकालत गर्दै आएका नेता हुन् । तर आजको बैठकमा विष्णु पौडेल र बादलले समेत विद्या भण्डारीको सदस्यताबारे बोलेका छन् ।

‘पूर्वराष्ट्रपतिले पार्टीमा फर्किएर काम गर्न चाहनु हुन्छ भने वलकम गरौं,’ पौडेलले भनेका छन् । स्रोतका अनुसार आगामी केन्द्रीय कमिटी बैठकले विद्या भण्डारीको सदस्यता नवीकरण गर्ने निर्णय लिनुपर्ने पोखरेल र पौडेलको प्रस्ताव छ ।

अर्का उपाध्यक्ष बादलले पनि विद्या भण्डारीको सदस्यतालाई रोकेर पार्टीलाई फाइदा नहुने तर्क गरेका थिए ।

‘उहाँको सदस्यतालाई लिएर पार्टीभित्रको मनोविज्ञान विभाजन छ,’ बादललको प्रस्ताव थियो, ‘अहिले पार्टीभित्र एकता चाहिएको छ, उहाँले (विद्या भण्डारी) चाहनु हुन्छ भने सदस्यता नवीकरण गरेर काम गर्ने मौका दिनुपर्छ ।’

समाचार वर्गहरू